विराटनगर : मोरङको लेटाङमा फार्मेसीको लापरबाहीले बिरामी महिलाको मृत्यु भएको आरोप लागेको छ ।
लेटाङ नगरपालिका–३ मा रहेको दीर्घायु लेटाङ फार्मेसीमा उपचारका लागि ल्याइएकी महिलाको मंगलबार दिउँसो मृत्यु भएको थियो । मृत्युपछि शव लगेर फार्मेसीअगाडि राखिएको छ । लेटाङ–७ वाराङ्की ३३ वर्षीया गोमा लिम्बूको दिउँसो ४ बजेतिर मृत्यु भएको हो ।
सिकिस्त अवस्थाकी उनलाई उपचारका लागि दिउँसो दिउँसो १ः३० बजेतिर फार्मेसीमा ल्याइएको थियो । फार्मेसीले अवस्था गम्भीर रहेको भनेर थप उपचारका लागि विराटनगर रेफर गर्यो ।
विराटनगरतर्फ ल्याउने क्रममा बीचबाटैमा मृत्यु भएपछि लिम्बूको शवलाई फर्काउँदै लगेर फार्मेसीअगाडि राखिएको छ । फार्मेसीअगाडि शव राखेर प्रदर्शन सुरु गरेका आफन्त र स्थानीयले लापरबाहीका कारण महिलाको मृत्यु भएको आरोप लगाउँदै नारबाजी गरिरहेका छन् । उनीहरुका अनुसार फार्मेसीले लगाइदिएको सुईका कारण बिरामीको मृत्यु भएको हो ।
फार्मेसी आसपासमा अहिले करिब सय जनाजति स्थानीय भेलाजम्मा भएका छन् । लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै उनीले शव जिम्मा नलिने अडान राखेर नाराबाजी गरिरहेका हुन् । स्थानीयका अनुसार मृतक गोमाका पति आइतबहादुर लिम्बू वैदेशिक रोजगारीमा छन् ।
फार्मेसीका संचालक प्रकाश श्रेष्ठले भने प्राथमिक उपचार पनि गर्न नपाइकन बिरामीलाई रेफर गरिएको बताउँछन् । उनका अनुसार बिरामीको अवस्था गम्भीर थियो । ‘लगाउन खोज्दा क्यानोलासमेत गएन । रगत पनि आएन । क्यानोला लगाउने क्रममा बिरामी बेहोस भएर ढलिन् । उपचार सम्भव नहुने देखेर तत्काल रेफर गरियो । बिरामीको मुटुको धड्कन अत्यधिक र रक्तचाप न्यून थियो । ज्वरो पनि आइरहेको थियो,’ श्रेष्ठ भन्छन् ।
एकैपटक स्वास्थ्यमा धेरै समस्या देखिएको र त्यहाँमाथि बिरामी बेहोस भएपछि प्राथमिक उपचार पनि नगराइकन तत्काल एम्बुलेन्स खोजेर थप उपचारका लागि विराटनगर रेफर गरिएको उनको भनाइ छ । उनका अनुसार बिरामीलाई डा. रनधीर चौरसियाले चेकजाँच गरेका थिए । श्रेष्ठ लेटाङ नगर अस्पतालमा कार्यरत सिनियर अहेब हुन् ।
महिलाको मृत्यु भएको विषयलाई लिएर विवाद उत्पन्न भएपछि लेटाङमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालयहरु लेटाङ, बेलबारी, पथरी, उर्लाबारी लगायतबाट प्रहरी परिचालन गरिएको हो । सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ ।
ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर घटनास्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित घटना हुन नदिन सुरक्षा सतर्कता बढाइएको र आक्रोसित भीडलाई सम्झाइबुझाइ गर्ने काम भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
Discussion about this post