विराटनगर : मोरङको बेलबारीमा एक शिक्षकले बेहोस हुनेगरी एक विद्यार्थी कुटपिट गरेको घटना बाहिरिएको छ ।
बेलबारी नगरपालिका–३ मा रहेको श्री भगवती माध्यमिक विद्यालयका शिक्षक चित्रबहादुर कोइरालाले कक्षा ९ मा अध्ययनरत विद्यार्थी १४ वर्षीया शर्मीला तामाङलाई बेहोस हुनेगरी कुटपिट गरेका हुन् । घटना मंगलबार अपराह्नको हो । कक्षामा होहल्ला गरेको र नपढेको भन्दै उनीमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार कोइरालाले ढाडमा हिर्काएर छात्रा बेहोस भएकी हुन् । तामाङलाई उपचारका लागि बेलबारीकै सुविधा मेडिकलमा भर्ना गरिएको थियो ।
त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको प्रहरीको भनाइ छ ।
कोइरालालाई मंगलबार साँझ नै नियन्त्रणमा लिएको प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको सइ नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो ।
विद्यालयका प्रधानाध्यापक नारायण आचार्यले पढाउने क्रममा होहल्ला गरेपछि शिक्षक कोइरालाले विद्यार्थी कुटेको स्वीकार गरे । ‘अन्तिम कक्षा चलिरहेको थियो । त्यही बेला होहल्ला गरेपछि गालामा ‘प्याट्ट’ कुट्नु भएछ,’ उनले भने, ‘त्यसपछि छात्रा एकछिन बेहोस भइछन् । पहिलेदेखि नै बिरामी पनि रहिछन् ।’
कुटाइका कारण छात्रा एकछिन बेहोस भएको र उपचारपछि अवस्था सामान्य भएसँगै घर फिर्ता गरिएको प्रअ आचार्यले बताए । विद्यालयका प्रअ आचार्यले घटनाका विषयमा पीडित विद्यार्थीका अभिभावक र शिक्षकलाई राखेर मौखिक सहमति गराउने तयारी भइरहेको उनले बताए ।
शिक्षकको कुटाइले छात्रा बेहोस भएको घटनालाई ढाकछोपको प्रयास गरिएको छ । सत्तारुढ दल नेकपा (एमाले)को दबाबमा घटना ढाकछोपको प्रयास गरिएको जनाइन्छ । शिक्षक कोइराला एमालेबाट बेलबारीको मेयरमा निर्वाचित भएका मेयर दिलप्रसाद राई (डीपी)का छिमेकी पनि हुन् । कोइराला आफैं पनि एमालेमा सक्रिय छन् ।
पीडित छात्राका अभिभावकको पारिवारिक आर्थिक अवस्था कमजोर छ । केही पर्दा बोलिदिने कोही छैनन् । त्यही मौका छोपेर घटनालाई भित्रभित्रै दबाउन खोजिएको स्थानीयको बुझाइ छ ।
प्रहरीले पनि शिक्षक कोइरालालाई छाडिदिइसकेको छ । पीडित पक्षबाट जाहेरी नपरेका कारण आवश्यक परेका बेला उपस्थित हुने गरी छाडिएको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी स्रोतले भन्यो, ‘कुनै हिसाबको जाहेरी पनि परेन । त्यत्तिकै राखिरहन नमिल्ने भएकाले बोलाएका बेला उपस्थित हुने सर्तमा छाडिएको हो ।’
पीडित बालिकाका काका कूलबहादुर तामाङले सबैले दबाब दिएपछि आफूहरुको केही नलागेको बताए । ‘टाउको र जिउमा ‘मास्टर’ले कुटेर बेहोस बनाएका रहेछन् । प्रहरीले पक्राउ पनि गरेको थियो,’ उनले भने, ‘तर, यो सानो कुरा हो र नानीलाई केही भएको छैनभन्दै सबैले दबाब दिएपछि हामीले मात्रै केही गर्न सकेनौं । सबै पक्ष छलफल गरेर मिल्नुपर्छ भनी दिउँसो ४ बजे स्कुलमा बोलाएका छन् ।’
बेलबारीमा उपचार गराउँदा पनि होस नआएपछि भतिजीलाई थप उपचारका लागि विराटनगर लैजानु परेको तामाङले बताए । ‘अस्पतालबाट डिस्चार्ज त गरेर ल्याइयो । तर, अहिले पनि घाँटी दुखेर उठ्न सकिरहेकी छैन,’ उनले भने, ‘घाँटी उठाउनै भएको छैन । मिलापत्र गर्नका लागि स्कुलमा मिटिङ राखेका छन् ।’
बेलबारीका मेयर राईदेखि एमालेका नेताको दबाब र सत्ताको बलमा शिक्षकलाई उन्मुक्ति दिन खोजिएको आरोप लागेको छ । विद्यार्थी बेहोस भएर उपचाररत रहेकै अवस्थामा पीडकलाई प्रहरीले छाडिदिनुले पनि घटना दबाउन सबै पक्षको मिलेमतो रहेको प्रष्ट हुने विद्यालयका एक शिक्षकले बताए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने घटनाका विषयमा थप बुझ्ने काम भइरहेको बताए ।
यता, मेयर राईले भने घटनाबारे आफूलाई जानकारी रहेको बताए । ‘घटनाको जानकारी भएपनि सबै कुरा मलाई थाहा छैन ।
तर, मैले नै बेलबारीबाट थप उपचारका लागि विराटनगर लैजानु भनेको हुँ,’ उनले थपे, ‘विद्यालयकै शिक्षक, विद्यार्थी र अभिभावकको सहमतिमै शिक्षकलाई प्रहरीले छाडिदिएको भन्ने सुनेको छु । घटना मिलाउन मैले कुनै दबाब दिएको छैन ।’
घटना भएपछि पक्राउ गरिएको नभइकन शिक्षक कोइरालालाई सुरक्षाका दृष्टिकोणले प्रहरीले लिएर गएको राईको भनाइ छ ।
Discussion about this post