ज्योतिष गुरु विवेक पाण्डेय
हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउँछन् ।
गणेश चतुर्थी र ऋषि पञ्चमी पनि तीजकै अङ्गको रूपमा लिइन्छ । हामीले मनाउने कुनै पनि सांस्कृतिक पर्व हाम्रा वैदिक तथा पौराणिक प्रसङ्गसँग सम्बन्धित भएर परम्परित रूपमा चल्दै आएका छन् । हरितालिका पनि शिवपुराणको हिमालय पुत्री पार्वतीको प्रसङ्गसँग जोडिन्छ ।
परापूर्व कालमा हिमालयकी पुत्री पार्वतीले भगवान् शिवलाई पतिदेवको रूपमा प्राप्त गर्न सकूँ भनी घोर तपस्यामा तल्लीन भइन् । तर, उनको तपस्या सफल हुन सकेन ।
जगतका पालनकर्ता भगवान् विष्णुलाई पक्कै पनि आफ्नो तपस्या कसरी सफल हुन्छ भन्ने कुरा थाहा छ भनी उनले भगवान् विष्णुको प्रार्थना गरिन् र विष्णुले भगवान् शिवलाई प्राप्त गर्न व्रत, उपासना तथा पूजा विधिका सम्बन्धमा बेलिबिस्तार लगाए ।
विष्णुले दिएको जानकारीअनुसार पार्वतीले कठोर व्रत बसेपछि भगवान् शिव खुसी भई प्रकट भए र चिताएको कुरा पुगोस् भनी वर दिए । यही दिन पार्वतीले हरिको सल्लाहअनुसार पूजा आराधना गरी शिवलाई प्राप्त गर्न सफल भएकी थिइन् । त्यसैले यो पर्व हरितालिका (हरिले दिएको तालिकाअनुसार गरिने पूजा) को नामले प्रचलित हुन पुग्यो ।
विवाह गरी पतिका घर गएका छोरी चेलीलाई यस दिन माइत ल्याउने चलन छ । अविवाहित नारीहरूले शिवजी जस्तै योग्य वर प्राप्त गर्न सकूँ भन्दै भगवान् शिवको व्रत–आराधना गर्छन् भने विवाहित महिलाहरूले पारिवारिक सुखशान्ति तथा दाम्पत्य जीवनको सफलताका लागि व्रत आराधना गर्छन् ।
तृतीया तिथिको दिनमा दिनभर भोकै निराहार र निर्जला व्रत बसिने भएकाले द्वितीया तिथिको राति दर खाने चलन छ । महिलाहरूले भोलिपल्ट तृतीयाको दिनमा जलाशयमा स्नान गरी पवित्र भई शुद्ध मनले निराहार व्रत बस्छन् ।
तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान् शिव खुसी हुने र परिवारमा सुख समृद्धि छाउने जनविश्वास छ । यस दिन विवाहित तथा अविवाहित महिलाहरू शिव मन्दिर अथवा ठुलो चौरमा भेला भएर दिनभरि नाचगान गर्छन् । यस दिन महिलाहरू राता लुगा र गहनामा सजिएका हुन्छन् ।
कन्याहरू पनि व्रत र नाचगानमा सरिक हुन्छन् । दिनभरि निराहार व्रत बसेका महिलाहरू साँझ भगवान् शिवको पूजा गरेर कन्यालाई टीका लगाई दक्षिणा दिएर फलाहार गर्छन् ।
श्रीमद्भागवत महापुराणको अर्को प्रसङ्गअनुसार भाद्र कृष्ण अष्टमीको दिन भगवान् श्रीकृष्णको जन्म भयो । श्रीकृष्णको जन्मिएको ११औँ दिन अर्थात् नामकरणको दिन गोकुलका गोप गोपिनीहरूले बाजागाजाका साथ नाचगान गरी खुसीयाली साटासाट गरे ।
यही पौराणिक प्रसङ्गसँग जोडिएर नै तीजमा महिलाहरूले नाचगान गर्ने परम्पराको थालनी हुन पुग्यो ।
Discussion about this post