धरान । क्यामरुनको एभिनियर फुटबल क्लब बुढासुब्बा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आज धरान रंगशालमा भएको खेलमा एन्फा मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै एभिनियर फाइनलमा प्रवेश गरेको हो । एभिनियरले काकडभिट्टा ट्रेनिङ सेन्टरसँग शनिबार फाइनल खेल्नेछ । एभिनियरकालागी टिम्बाले गोल गरे भने मोरङले एक गोल आत्माघाती ग¥यो ।
खेलको ४४ औं मिनेटमा एभिनियरका साब्बा अलिले मोरङका गोल किपर प्रनिजय गच्छदार अगाडी बढेको बेला भलि प्रहार गरेका थिए । तर बल ड्रप भएर बारमा लागेर फर्किएको थियो । फर्किएको बललाई टिम्बाले हेड गोल गरे ।
दोस्रो गोल भने मोरङले आत्माघाती गोल ग¥यो । कियाली रजाकले क्रस गरेको बल फर्काउन खोज्दा धिरेन बिष्टले आत्माघाती गोल गर्न पुगे । एभिनियर एफसीका प्रशिक्षक अशोक थापा मगरले टिमले राम्रो खेलेको बताउनुभयो । उहाँले फाइनलमा उपाधी जित्ने गरी तयारी गर्ने र उपाधी जित्ने दाबी समेत गर्नुभयो । मोरङका प्रशिक्षक रानु राना मगरले युवा खेलाडी विदेशी टिमसँग राम्रै खेलेको बताउनुभयो । अफसाइड भनेर छोडेको बलमा गोल खान पुगेको भन्दै मगरले शारिरीक रुपमा विदेशी टिम निकै बलियो भएता पनि राम्रै खेलेको बताउनुभयो ।
खेलको म्यान अफ द म्याच क्यामरुनका जर्सि नं. १८ का डिन घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो । शारिरीक रुपमा बलियो क्यामरुनी टोलीसँग मोरङले राम्रो खेल प्रदर्शन ग¥यो । खेलको २२ मिनेटमा अग्रता लिने राम्रो अवसर मोरङले सदुपयोग गर्न सकेन । सागर विकले दिएको पासमा सञ्जय धिमाल गोल गर्न चुके ।
डिफेन्स बिट भइसकेको अवस्थामा उनको प्रहार बाहिरीयो । मोरङका गोल किपर प्रनिजय गच्छदारले क्यामरुनका दर्जनौ प्रहार विफल पारिदिए । खेलको दशौं मिनेटमा फेड्रिक मेड्जोको सशक्त प्रहार उनले पञ्च गरिदिए । खेलको ३० औं मिनेटमा डिफेन्स बिट भइसकेको अवस्थामा रिचार्ज विल्सनको प्रहार पनि उनले मुस्किलले बचाए । दोस्रो हाफको ३९ औं मिनेटमा रिचार्ज विल्सनको पासमा कियाली रजकको प्रहार मोरङका गोल किपरले बचाए ।
प्रतियोगिताको फाइनल खेल यही फागुन २० गते धरान रंगशालामा हुनेछ । प्रतियोगिताको विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख र उत्कृष्ट खेलाडीलाई नगद १ लाख पुरस्कार प्रदान गर्ने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिनुभएको छ । प्रतियोगितालाई गोर्खा ब्रुअरी प्रालिको उत्पादन टुबोर्ग वियरले मुख्य प्रायोजन गरेको छ ।
Discussion about this post