झापा । भारतबाट आयातीत पेट्रोलियम पदार्थको डेन्सिटी (घनत्व) मा फरक परेपछि नेपाल आयल निगमले बितरण गर्ने पेट्रोलियम पदार्थको शुद्धतामा प्रश्न उठेको छ ।
मेची भन्सार कार्यालय हुँदै भारतबाट ल्याइएका ४ वटा ट्यांकरको ८० हजार लिटर डिजलमा डेन्सटी फरक परेपछि पेट्रोलियम पदार्थको शुद्धतामा प्रश्न उठेको हो ।
मे १ ख २१४९, मे १ ख २१५१, ना ७ ख १५०७ र ना ७ ख ६९७४ नम्बरका ट्याक्टरहरुमा आयात गरिएको डिजेलको घनत्व परीक्षण गर्दा फरक पाइएपछि मट्टितेल मिसावट भएको आशंका गरिएको छ ।
अनियमितता भएको आशंकामा छानबिन गर्न नेपाल आयल निगमकी प्रबन्धक कमला न्यौपानेको संयोजकत्वमा छानविन समिति बनाइएको थियो ।
मिसावट भएको शंका लागेपछि परीक्षणका लागि केन्द्रीय प्रयोगशाला पठाइएको नेपाल आयल निगम चारआलीका प्रमुख भीम विश्वकर्माले जानकारी दिए ।
गत शनिबार सिलिगुडीबाट झापाको चारआलीसम्म आउने ४ वटा डिजलको ट्यांकरमा मट्टितेल मिसावाट गरिएको पाइएको नेपाल आयल निगम स्रोतले जनाएको छ ।
झापा डिपोले केन्द्रलाई ४ वटा डिजल बोकेको ट्यांकरमा तेल मिसावट पाइएको जानकारी गराएसँगै निगमले छानविन समिति गठान गरेको हो । समिति गठन गरिएको झण्डै साता बित्न लाग्दा समेत प्रतिवेदन सार्बजनिक गरिएको छैन ।
एउटा ट्यांकरमा २० हजार लिटर डिजल हुन्छ । चारवटा ट्याङ्करमा ल्याइएको डिजेल ८० हजार लिटर हुन्छ । सबै डिजलमा मिसावटको शंकापछि प्रारम्भिक जाँचको प्रक्रिया अघि बढाइएको हो ।
चारआली डिपोमा डिजेलको प्रारम्भीक परीक्षण गर्दा शंकास्पद देखिएपछि केन्द्रलाई खवर गरिएको बताइएको छ । ‘सुरुमा डेन्सिटी मात्रै हेरिएको छ निगमका चारआली शाखा प्रमुख विश्वकर्माले भने ‘पक्का मिसावट भन्ने शंका लागेरै थप परीक्षणका लागि नमूना पठाइएको हो ।’
चालकहरुको मिलेमतोमा यस्तो गरेको आशंकामा जाँच भइरहेको निगम श्रोतले जनाएको छ । ‘सिलिगुडीबाट झापासम्म आइपुग्दा ३५ किलोमिटर भारतपट्टि रहेको र नेपालतर्फ भने जम्मा १५ किलोमिटर रहेकाले भारतमा नै चालकहरुले यस्तो गरेको हुनसक्छ स्रोतले भन्यो ।
डिजेल दमकस्थित माता पाथीभरा, नवदुर्गा, गीता आयल र पशुपति आयलका लागि ल्याइएको थियो ।
पेट्रोलियम पदार्थ आयातका लागि प्रयोग गरिएका ट्याङ्कका चालक बिक्रम राई, रफिल भट्टराई,डिल्लीराम हुमागाई र विनोद भट्टराई चालक हुन् । उनीहरुको बयान समेत लिइसकिएको निगमका सहायक प्रवन्धक लोकमणि पौडेलले बताए ।
भारतबाट आयात गरिएको पेट्रोलियम पदार्थको डेन्सिटी(घनत्व) ८१०–८४५ हुनुपर्नेमा घनत्व नै फरक परेको पौडेलको भनाई छ ।
पेट्रोलियम डिलर्स एशोसिएसन मेचीका अध्यक्ष नवीन कोइरालाले आफूहरु ढुवानीकर्ताको मात्रै काम गर्ने भएको र चालकको जिम्मामा लोड अनलोडको काम गरिने भएकाले त्यसको सबै हेर्ने निकाय नेपाल आयल निगम भएको बताए ।
पेट्रोलियम पदार्थ आयातमा आइओसीले लक लगाउँछ र एनओसीले खोल्छ यसमा बीचमा चालकले के गर्छन् थाहा हुन्न अध्यक्ष कोइरालाले भने ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ट्याङ्कर समिति अध्यक्ष टुकप्रसाद दुलालले चालकले पीडीओको मात्रै काम गर्ने र भारतमा रहेका मुन्सीलाई नेपाल आयल निगमले पठाएको प्रोडक्ट डेलिभरी अर्डर पेपर दिने र पेट्रोलियम पदार्थ लिएर आउने मात्रै काम गर्ने गरेको बताए ।
तर, पेट्रोलियम पदार्थको डेन्सिटीमा नै फरक परेपछि ट्याङ्कर चालक र नेपाल आयल निगम चारआली शाखा नै अनुसन्धानको घेरामा परेका छन् ।
Discussion about this post