विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश विकास गर्नलाई भ्रष्टाचार दुष्मन भएको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाण्डौंले विराटनगरमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीति तथा कार्य योजना –२०८१ का सम्बन्धमा अन्तरक्रियामा कार्कीले भ्रष्टाचारलाई न्यून गर्दै नेपाललाई भ्रष्टाचारमुक्त मुलुकको रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले मुलुकमा भ्रष्टाचार हटाउन शून्य सहनशीलताको नीति अवलम्बन गर्नु पर्ने बताए ।
यसका लागि राजनीतिक, प्रशासनिक नेतृत्व र सुरक्षा निकाय लगायत सबैले प्रतिबद्धता व्यक्त गर्नु पर्ने आवश्यकता रहेको कार्कीले औँल्याए ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा भ्रष्टाचार विरुद्धको रणनीति बनाउन आवश्यक छलफल एवं कार्य सुरु गर्ने जानकारी दिए । भ्रष्टाचार नियन्त्रण गर्न विधि बनाएर प्रतिविद्धतासहित काम गरेमा सफल हुने भन्दै मुख्यमन्त्री कार्कीले भने ,‘देश विकासको लागि भ्रष्टाचार नियन्त्रण आवश्यक रहेकोले यस कार्यका लागि हामी सबैले आफ्नो क्षेत्रबाट लाग्नुपर्ने पर्छ ।’
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव फणीन्द्र गौतम, प्रमुख सचिव केदारनाथ शर्मा, प्रदेशसभा सदस्य मालती सुब्बा, सहसचिव राजेन्द्र थापा, उपसचिव ओम प्रकाश पराजुलीले भ्रष्टाचारको जोखिम पहिचान गरी निगरानी गर्नुपर्ने, प्रदेश र स्थानीय निकायमा भ्रष्टाचारविरुद्धको कार्यनीति बनाएर कार्यान्वयन गरे नियन्त्रणमा सहयोग पुग्ने विचार राखेका थिए ।
Discussion about this post