विराटनगर : कोशी प्रदेशमा प्रदेशसभाको निर्वाचन सम्पन्न भएको २१ महिनापछि संसदीय समिति सभापति चयनको तयारी थालिएको छ ।
प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टका अनुसार यही भदौ २८ गते शुक्रबार संसदीय समितिको सभापति चयन गरिने भएको हो ।
प्रदेशसभा सचिवालयले सोहीअनुसार तयारी गरेको छ । २८ गते सभापति छानेर सोही दिन शपथ ग्रहण गराउने विष्टले बताए ।
२०७९ मंसिर ४ गतेको निर्वाचनपछि प्रदेशसभाको पहिलो बैठक २०७९ पुस १७ गते बसेको थियो । २०८० कात्तिक २० गते संसदीय समिति सदस्य छानिएका थिए । सभापति छनौट भने बाँकी रहेको थियो ।
कोशी प्रदेशसभामा न्याय प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार समिति छन् ।
सात मध्ये एमालेले ३, कांग्रेसले २ वटा लिने र माओवादी केन्द्र र राप्रपालाई १–१ वटा समिति दिने मुख्यमन्त्रीको तयारी छ । यद्यपि, नेपाली कांग्रेसले पनि तीन वटै समिति दाबी गरेका कारण सहमति भइसकेको छैन । माओवादी केन्द्रले २ सभापति दाबी गरेको छ ।
‘एमालेले ३, कांग्रेसले २ न्यूनतम र माओवादीले १ र अरुलाई पनि (राप्रपा) एक दिने कि भन्ने छ,’ एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने,‘हामी निष्कर्षमा पुगिसकेका छैनौं, भोलि टुङ्गोमा पुग्छौं ।’
प्रदेशका सातमध्ये प्रमुख प्रतिपक्षी माओवादीले सार्वजनिक लेखा समिति पाउने निश्चितजस्तै छ । राप्रपालाई एउटा दिने मुख्यमन्त्रीको तयारी छ । ‘भोलिको परिस्थिति के हुन्छ राप्रपालाई पनि चिढ्याउन हुन्न भन्ने हो,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो,‘ सहमतिमै समिति सभापति छान्ने कुरा छ, निर्णयमा पुगिसकेको छैन ।’
‘हामीले एउटा समिति नेतृत्व पाउनुपर्छ भनेर सबैसँग आग्रह गरेका छौं,’ राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले भने,‘ सबै नेता पोजेटिभ हुनुहुन्छ ।’
९३ सदस्यीय प्रदेश सभामा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६ (सभामुखसहित), एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् ।
Discussion about this post