इटहरी : इटहरी उपमहानगरपालिका अगाडि उपभोक्ताहरू आन्दोलित बनेका छन् ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा बजेटमा समाजेश भएका नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै यहाँका उपभोक्ताहरू आन्दोलित बनेका हुन् ।
यसअघि शनिबार पनि आन्दोलिन गरिएको थियो । सो आन्दोलनलाई आज (बुधबार) निरन्तरता दिइएको संघर्ष समितिका संयोजक दीपक श्रेष्ठले बताए ।
अहिले सुरक्षाकर्मी (नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी)को घेराबन्दीबीच आन्दोलन जारी छ । इटहरी उपमहानगरअगाडि भइरहेको विरोध कार्यक्रममा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
‘यहाँका आम उपभोक्ताले वडा र नगरमार्फत सम्झौता गरेर काम सम्पन्न गरेका थियौँ, असार मसान्तमै पाउनुपर्ने भुक्तानी हालसम्म पाइएको छैन,’ संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘हामी विभिन्न महिनादेखि यहाँ धाइरहेका छौँ । नगर प्रमुख र जनप्रतिनिधिसँग नजिक भएकाहरूले यसअघि नै भुक्तानी पाएको कुरा पनि आएको छ ।’
उनले भुक्तानी नपाउँदा आजित भएर आन्दोलन गर्न बाध्य भएको बताए । मजदुरी गर्नेहरूले एक छाक टार्नका लागि दैनिक ज्यालादारी गरेको भएपनि उपमहानगरपालिकाले हालसम्म रकम भुक्तानी नगर्दा समस्या भएको उनले बताए ।
उनले अदालतले तारेख दिएजस्तो उपमहानगरले पनि तारेख दिएको बताए ।
‘हामीलाई पटकपटक अदालतले दिएको तारेखजस्तो धाइरहेका छौँ,’ उनले भने, ‘हामीलाई फेसबुके आन्दोलनकारी भनेर उहाँ (मेयर हेमकर्ण पौडेल)ले भन्नुहुन्छ, त्यसैले आज प्रत्यक्ष उपस्थित भएका हौँ ।’
पटकपटक साउन ७, १५, २९ गते, भदौ ५, १५ र २२ गतेसम्मको समयसीमा दिएपनि अझैसम्म भुक्तानी नदिएका कारण आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ ।
उनका अनुसार दुई सय पचास जना उपभोक्ताको पूर्ण भुक्तानी दिन बाँकी रहेको र तीन सय पचास जनाको आंशिक भुक्तानी दिएको छ । उपमहानगरले विभिन्न योजनामा खर्च गरिरहँदा उपभोक्ताको भने १७ करोड बढी रकम भुक्तानी दिन बाँकी रहेको उनले बताए ।
मेयर पौडेलले संघर्ष समितिसँग वार्ता र छलफलमै बस्न नचाहेको र फेसबुकमार्फत मात्रै प्रतिवाद गरेका कारणसमेत आन्दोलनमा उत्रन बाध्य भएको उनको भनाइ छ ।
अहिले इटहरी उपमहानगरपालिका गेट अगाडि ‘उपभोक्तामाथिको अत्याचार बन्द गर,’ ‘उपभोक्ताहरूको भुक्तानी तुरुन्त दे,’ ‘उपभोक्ताहरू एक हौँ’ लगायतका प्लेकार्डसहित कालो ब्यानरमा विरोध प्रदर्शन जारी छ ।
Discussion about this post