विराटनगर । मोरङमा बसी खेतीपाती गर्दै आएका भारतीय वृद्ध दम्पतीको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।
बूढीगंगा गाउँपालिका–५ नयाँ टोलमा बिहान ११–५० बजेतिर घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार करेन्ट लागेर भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र उनकी पत्नी ७२ वर्षीय कुमादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको हो । विद्युत प्रवाह भइरहेको मोटर चलाएर कल पेल्ने क्रममा दुवै जनालाई करेन्ट लागेको पाइएको प्रहरीले जनाएको छ ।
मण्डल दम्पती बूढीगंगा–५ का देवनारायण चौधरीको फुसको छानो भएको घर भाडामा लिएर त्यही ठाउँमा खेतीपाती गर्दै आएका थिए । इलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको सइ प्रवीण खड्का नेतृत्वको टोलीले घटनास्थल सुरक्षित राखेको छ । शव अहिले घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
डीएसपी बस्नेतले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि पठाउन घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्सपेक्टर हेमराज ओलीको नेतृत्वमा टोली परिचालन गरिएको जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान अघि बढाइने उनले बताए ।
Discussion about this post