विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला रंगेली नगरपालिकाविरुद्धको आन्दोलनमा सहभागी भएको २४ घण्टा बित्न नपाउँदै नेकपा (एमाले)ले महानगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
ध्यानाकर्षण पत्र बुझाउँदै एमालेले विराटनगरको विकास निर्माणमा ध्यान दिन आग्रह गरेको हो । एमालेको नेतृत्वमा रहेको रंगेली नगरपालिकाविरुद्ध नेपाली कांग्रेसको तर्फबाट प्रदर्शन हुँदा विराटनगरका मेयर कोइराला बुधबार सहभागी भएका थिए ।
त्यसको ‘काउन्टर’मा एमाले मोरङले महानगर प्रमुख कोइरालालाई बिहीबार ज्ञापन पत्र बुझाउँदै विकास निर्माणमा ध्यान दिन आग्रह गरेको हो ।
ज्ञापन पत्र बुझाउन पुगेको एमालेले निर्वाचित भएको दुई वर्ष पाँच महिना बितेपनि महानगरले विकास निर्माणको सवालमा अपेक्षित काम गर्न नसकेको भन्दै काममा ध्यान दिनसमेत आग्रह गरेको छ । तर, विराटनगरको कार्यपालिकामा एमालेकै बहुमत छ । एमाले मोरङले सडक निर्माण, ढल निकास, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधार सम्बन्धी विभिन्न स्थानीय विकासका मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ ।
‘विराटनगरको मेयर रंगेलीमा पुगेर पालिकाले गरेको संस्थागत निर्णयको विपक्षमा जे प्रतिक्रिया दिनुभयो त्यो बेठीक थियो । उहाँको क्षेत्राधिकार भन्दा बाहिर गएर एउटा नगरप्रमुखले अर्को नगरप्रमुखको सार्वभौम निर्णय गर्ने अधिकारलाई जुन प्रकारले हस्तक्षेप गर्नुभयो त्यो न्यायोचित थिएन । किन त्यसो गर्नु भयोभन्ने हाम्रो प्रश्न हो,’ एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले भने ।
उनले एउटा पालिकाले गरेको कामको विषयमा अर्को पालिका प्रमुखले बोल्नु उचित नभएको बताए । मेयर कोइराला रंगेली पुगेर नगरपालिकाविरुद्ध भएको आन्दोलनको नारा जुलुस र प्रदर्शनमै सहभागी भएका थिए ।
कार्कीले भने, ‘महानगरमा उहाँ (कोइराला)ले गर्नुभएको क्रियाकलाप संगतीपूर्ण छैन । ‘ट्रान्परेन्स’ छैन । ‘एकाउन्टेबल’ छैन । आफैंले गरेका निर्णय बदर गर्नुभएको छ ।’
उनले कोशी प्रदेशको राजधानी भएको ठाउँमा मेयरले एउटा शौचालयसमेत बनाउन नसकेको आरोप लगाए ।
‘शौचालयसमेत बनाउन सक्नु भएको छैन । जनताका लागि कुनै नयाँ दिन सक्नु भएको छैन,’ कार्कीले थपे, ‘रंगेलीबाट केही त सिक्नुहोस् । रंगेलीले गरेको ‘इनोभेसन’को विषयमा, ‘गार्डेन’को विषयमा र बजेट सञ्चालनका विषयमा सिक्नुहोस भन्यौं ।’
उनले नगरप्रमुखलाई आफ्नो शैली सच्याउन भनिएको बताए । २०७९ को स्थानीय तहको निर्वाचनपछिको करिब अढाई वर्षको अवधिमा महानगरसँग ठोस, प्रभावकारी एवं दीर्घकालीन योजनामा कमी भएको एमाले मोरङका अध्यक्ष कार्कीले बताए ।
ध्यानाकर्षण पत्र बुझ्दै महानगर प्रमुख कोइरालाले विकास निर्माणका कामका आवश्यक बजेट नहुँदा ढिलासुस्ती भएको बताए । बजेटका लागि प्रदेश र संघीय सरकारसमक्ष पहल भइरहेको उनले प्रतिक्रिया दिए ।
कोइरालाले बुधबार नगरप्रमुखको रूपमा नभइ पार्टीको मोरङ जिल्ला उपसभापतिको हैसियतमा आन्दोलनमा सहभागी भएको बताए ।
त्यस्तै, रंगेली नगरपालिकाविरुद्ध भइरहेको आन्दोलनमा धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदार पनि बिहीबार सहभागी भएका छन् । नाराबाजी र प्रदर्शनमै उनी सशरीर उपस्थित भएर ऐक्यबद्धता जनाउँदै रंगेली नगरपालिकाविरुद्ध भाषण गरेका थिए ।
गच्छदार कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । एउटा पालिकाविरुद्ध भइरहेको आन्दोलनमा साथ दिएका कारण अरू पालिकाका प्रमुखहरू धमाधम विवादमा तानिन थालेका छन् । उनीहरूले आफ्नो पालिका बनाउनलाई भने ध्यान नदिएको आरोप लाग्ने गरेको छ ।
कांग्रेस र एमाले अहिलेका सत्तारुढ दल हुन् । तर, मोरङमा भने रंगेली घटनाले गर्दा दुवै दलबीच खटपट उत्पन्न भएको देखिन्छ ।
Discussion about this post