ताप्लेजुङ / विभिन्न स्थानबाट सहयोगको अपेक्षा सहित सडक मानवहरूको धमाधम उद्धार गर्न थालिएको छ । लागु औषध दुर्व्यसन, कुलत र कुसंस्कार विरुद्धको सामाजिक जागरण अभियानमा सक्रिय संस्था ‘होप फर अल’को विशेष सक्रियतामा सडक मानवहरूको उद्धार गर्न थालिएको हो ।
उद्धार गरिएका उनीहरूलाई देशका विभिन्न स्थानमा रहेका आश्रम तथा मनोसामाजिक परामर्श केन्द्रहरूमा पठाउन थालिएको छ ।
यसै क्रममा फक्ताङलुङ गाउँपालिका वडा नं २ खेजेनिमस्थित एक ओडारमा बस्दै आएका भारत बिहार घर बताउने ४० वर्षीय राकेश श्री वास्तवलाई ‘होप फर अल’को समन्वयमा भक्तपुरस्थित आफ्नो घर आश्रम नेपालमा पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार ती व्यक्तिलाई आश्रममा पुग्ने गरी ‘होप फर अल’का जिल्ला अध्यक्ष सागर विश्वकर्माको जिम्मा लगाइएको हो ।
ओडारमा बस्दै आएका श्री वास्तवलाई फक्ताङलुङ गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीयले प्रहरी चौकी सिँवासंगको समन्वयमा ओडारबाट उद्धार गरिएको थियो । यसअघि मरिङदेन गाउँपालिकाको अगुवाइ तथा संस्थाको समन्वयमा दोभान बजारमा रहेका एक पुरुष र एक महिला सडक मानवलाई उद्धार गरी इटहरी र काठमाडौँमा रहेका मनोसामाजिक परामर्श केन्द्रतर्फ पठाई सकिएको छ ।
होप फर अलले यसअघि पनि जिल्लाका विभिन्न स्थानमा रहेका सडक मानवहरूलाई विभिन्न आश्रम तथा मनोसामाजिक परामर्श केन्द्रमा पठाई सामाजिक जीवनमा फर्काउन भूमिका निर्वाह गर्दै आएको छ ।
Discussion about this post