ताप्लेजुङ / जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले झण्डै साढे ११ सय जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । हालसम्ममा सो सङ्ख्यामा परिचयपत्र वितरण गरिएको हो ।
प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टङ्कबहादुर भट्टराईका अनुसार १ हजार १ सय ३४ जनालाई राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिसकिएको छ ।
आर्थिक वर्ष २०८०।८१ मा ९ सय ३० जनाको कार्ड वितरण गरेको प्रशासन कार्यालयले चालू आवमा २ सय ४ जनाको राष्ट्रिय परिचयपत्र वितरण गरेको छ । प्रशासन कार्यालयका अनुसार अहिले सम्म ताप्लेजुङबाट ७० हजार ५ सय ३५ जनाले राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गराई सकेका छन् ।
१६ वर्ष उमेर पूरा भएको र नेपाली नागरिकताको प्रमाण–पत्र लिएको व्यक्तिले राष्ट्रिय परिचयपत्रमा नाम दर्ता गर्न सक्नेछन् ।
त्यसका लागि परिचयपत्र प्राप्त गर्न चाहने व्यक्तिले विभागले तोकेको निकाय वा अधिकारीलाई विद्युतीय तस्बिर,दुवै हातका १० औँलाको रेखा सहितको विद्युतीय ल्याप्चे छाप, हस्ताक्षर लगायतका व्यैक्तिक तथा जैविक विवरण उपलब्ध गराउनुपर्छ ।
परिचयपत्रको कार्ड लिनका लागि भने परिचयपत्र वाहक स्वयं उपस्थित हुनु अनिवार्य रहेको छ ।
Discussion about this post