झापा । झापाको शिवसताक्षीमा गए राति भाइको हत्या भएको अभियोगमा दाजु पक्राउ परेका छन् । शिवसताक्षी–८ शीतल चौकका ४२ वर्षीय रामप्रसाद सिटौलाको हत्या गरेको आरोपमा उनका दाजु नारायण सिटौलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनापछि अनुसन्धानका लागि मृतकका दाजु नारायण सिटौलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । गए राति करिब ९ बजे घरको पछाडिपट्टि उत्तानो परेको अवस्थामा रामप्रसादको शव फेला परेको थियो ।
उनको टाउकोमा चोट देखिएको छ । दाउराले प्रहार गरी हत्या गरेको हुनसक्ने आशङ्का प्रहरीको छ । घटनास्थल वरिपरि दाउरा छरिएको र रगत लतपतिएको थियो । उनलाई सुतेकै ठाउँमा दाउराले हानेको हुनसक्ने बताइएको छ ।
दुवै दाजुभाइले मादक पदार्थ सेवन गरी झगडा गरेको र नारायणले भाइलाई दाउराको चिर्पटले हत्या गरेको हुनसक्ने आशङ्का छ । तीन जना दाजुभाइमध्ये मृतक रामप्रसाद माहिला हुन् ।
Discussion about this post