वराहक्षेत्र । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा वराहक्षेत्र नगरपालिकामा विद्यालय स्तरीय लागुऔषध दुर्व्यसन विरुद्ध ‘फ्यान भित्ते पत्रिका प्रकाशन प्रतियोगिता’ सम्पन्न भएको छ ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीको सहकार्य र फ्यान क्लब वराहक्षेत्र नगरपालिकाको प्राविधिक सहयोगमा ’लागुऔषध दुर्व्यसन’ सम्बन्धी सचेतनामूलक फ्यान भित्ते पत्रिका प्रकाशन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो ।
‘लागुऔषध दुरुपयोग विरुद्ध लडौँ, रोकथाममा जोड दिऔँ’ भन्ने मूल नाराको साथ वराहक्षेत्र नगरपालिकाको १२ वटा विद्यालयहरूले सहभागितामा कार्यक्रम सम्पन्न भएको छ ।
प्रतियोगितामा महेन्द्र माध्यमिक विद्यालय प्रथम, मर्निङ स्टार बोर्डिङ स्कुल दोस्रो, आदर्श माध्यमिक विद्यालय तेस्रो र सरस्वती मा वि चौथो भएको थियो । विजेता भएका विद्यालयहरूलाई क्रमशः ४ हजार, ३ हजार, २ हजार र १ हजार नगद रकम सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि इलाका प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले लागु औषधले समाजमा गहिरो गरी जरा गाडेको त्यसको जरा फाल्न असम्भव नभएपनी गाह्रो रहेको बताए ।
लागुऔषधमा धेरै जसो युवाहरू फसेको उनले बताए । ‘गएको एक हप्तामा मात्र हेर्ने हो भने सुनसरी भरिबाट मात्र ६६ ग्राम खैरो हिरोइन, ८ सय ४६ केजी गाँजा र २ सय ४६ केजी गाँजा सहित धेरै युवाहरू पक्राउ गरेका छौ , कारागारमा हेर्ने हो भने नि जेल सजाय भोगिरहेकामा धेरै जसो लागु औषधमा फसेको युवाहरू छन्’ प्रवक्ता भण्डारीले भने ।
धेरैजसो युवाहरू विद्यालय स्तरबाटै लागु औषधको दुर्वयसनिमा फसेको कारण विद्यालयमै विद्यार्थीहरूलाई लागु औषधबारे सचेतना कार्यक्रम दिन आवश्यक रहेको प्रवक्ता भण्डारीले बताए ।
लागुऔषध सहित १ महिनामा मात्र सुनसरीबाट ५ सय युवाहरू पक्राउ परेको समेत उनले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घको सदस्य भीषण राईको संयोजकत्वमा पत्रकार निशा राई र ग्रामीण पत्रकार समाजका प्रतिनिधि हिरण्य कार्कीको निर्णय मण्डल रहेको थियो ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघटी सुनसरीको प्रहरी निरीक्षक विकास राई लगायत फ्यान क्लबको प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
Discussion about this post