विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरामा आफूले कुनै सम्झौता नगरेको स्पष्ट पारेका छन् ।
भागमा न्यायाधीश पाएमा उपसभामुखलाई हटाउन लागेको भनेर कसैले भ्रम छर्ने र नियोजित रूपमा प्रचार गरेको हुनसक्ने उनको भनाइ छ । ‘उपसभामुख एउटा इमान्दार, जनजातिको महिला । जो बाल बच्चाको बच्चाको निम्ति त्यत्रो राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त छन् । उहाँले केही नजानेर ‘टेक्निकल्ली’ त्रुटि गर्नु भएको सजाय त्यत्रो दिनु हुँदैन । हटाउन हुँदैनभन्नेमा दृढ छौं,’ प्रचण्डले भने ।
विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले उपसभामुख हटाउन लागेको भनेर भ्रामक र कपोलकल्पित कुरा गरिएको दाबी गरे । ‘यो विल्कुल गलत हो । हामीले त्यस्तो भनेको र सोचेको पनि छैन । बरु उपसभामुख हटाउने कुराबाट कांग्रेस र एमाले नै पछि हट्नुहुन्छ होला,’ उनी भन्छन् । प्रचण्डले सबै रिक्त रहेका संवैधानिक आयोगको नियुक्तिको विषयमा कुरा र छलफल अघि बढिरहेको जानकारी पनि दिए ।
एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गरेको आरोप प्रचण्डले लगाएका छन् । उनले ‘हिंसा’ शब्द प्रयोग गरेर एमालेले माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गर्न खोजेको बताएका हुन् । उनले त्यो कुरा नसच्याए संसदमा माओवादीको विरोध जारी रहने स्पष्ट पारेका छन् ।
संविधानको सशस्त्र संघर्ष सम्बन्धी व्याख्यामा माओवादी जनयुद्ध भनेर व्याख्यात्मक टिप्पणीमा राखिएको र सर्वदलीय सहमतिका आधारमा सबैको हस्ताक्षर भएको ‘डकुमेन्ट’ आफूले विपक्षी दलको नेताको हैसियतमा संसदमा पढेर सुनाएको प्रचण्डले बताए । ‘अहिले एमाले नेतृत्वले हिंसा शब्द प्रयोग गरेर माओवादी आन्दोलनलाई अपमानित, अपभ्रंश र भ्रष्टीकरण गर्ने गरेको छ । त्यो चैं उहाँहरु ९एमाले०ले सच्याउनुपर्छ । नत्र हाम्रो विरोध जारी रहन्छ,’ उनले भने ।
उनले राजनीतिमा ‘एक्जिट’ भन्ने नहुने दाबी गरे । ‘सच्चा राजनीतिज्ञहरु बाँचुनजेल पनि राजनीति गरी नै राख्छन् । मरेपनि गर्छन् भन्ने छ ‘फिलोसोपी’ । मरेपछि पनि राजनीतिज्ञहरु मर्दैनन् । उनीहरुले राजनीति गरी नै राखेका हुन्छन् । राजनीतिमा ‘एक्जिट’ भन्ने वैज्ञानिक कुरा हैन,’ प्रचण्डले भने ।
अहिलेको व्यवस्थाविरुद्ध दुर्गा प्रसाईंलगायतले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने भनेर गरेको कुरालाई आफूहरुले महत्व नदिएको उनले बताए । ‘हामी आफ्नै पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर लागेका छौं । सबै प्रदेशमा गएर पार्टीलाई केन्द्रित गर्ने प्रयास गरेका छौं । समाजवादी मोर्चा, वामपन्थी र लोकतन्त्रवादी पार्टीहरुसँग पनि कुराकानी चलिरहेको छ । व्यक्तिहरुका हकमा त्यति महत्व दिएका छैनौं । दिँदैनौं पनि,’ प्रचण्डले भने ।
Discussion about this post