विराटनगर : विराटनगरको सडकमा पार्किङ गरेर राखिएको ट्रकमा आइतबार राति मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर नजिक सडकको साइडमा पार्किङ गरेर राखिएको यूपी ३ पी २८९१ नम्बरको ट्रकमा विराटनगरबाट रानीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४४ प ८०८५ नम्बरको मोटरसाइकल राति १०ः३० बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ ।
मोरङ ट्राफिक प्रमुख इन्सपेक्टर राजन लम्सालका अनुसार दुर्घटनामा मोटरसाइकलको पछाडि सवार विराटनगर–१० का २५ वर्षीय कृष्ण मण्डलको मृत्यु भएको हो । दुर्घटनामा कृष्णसहित मोटरसाइकल चालक विराटनगर–१५ का १८ वर्षीय राजीव मण्डल गम्भीर घाइते भएका थिए ।
घाइतेमध्ये कृष्णको उपचारका क्रममा विराट नर्सिङ होममा सोमबार बिहानका राति १ बजेतिर मृत्यु भएको लम्सालले बताए ।
गम्भीर अवस्थाका राजीवको सोही अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ ।
दुर्घटनापछि ट्रक चालक भारतको उत्तर प्रदेश मोहनगन्जका २८ वर्षीय मक्सुद आलम फरार बनेका थिए । खोजतलासका क्रममा फेला पारेका उनलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको छ ।
Discussion about this post