विराटनगर : हुलाकी सडक खण्डअन्तर्गत मोरङको रतुवामाई नगरपालिका–५ झपटतालमा स्कुटरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
सडकमा गुडिरहेको मे ९ प ५४२८ नम्बरको मोटरसाइकललाई प्रदेश १–०१–०१६ प ६३४० नम्बरको स्कुटरले भदौ २५ गते बिहान पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटरको पछाडि सवार रतुवामाई–४ की ४८ वर्षीया रुपकुमारी राजवंशी घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा सोमबार (आज) बिहान ६ बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।
उनका अनुसार दुर्घटनामा परेर घाइते भएकी रुपकुमारीको उपचारमा स्कुटर चालक रतुवामाई–४ का ३५ वर्षीय विजय राजवंशी र मोटरसाइकल चालक रतुवामाई–४ का ६२ वर्षीय बलराम राजवंशी संलग्न थिए ।
स्कुटरको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । स्कुटर चालक विजय राजवंशी नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक) हुन् । उनी सुनसरीमा कार्यरत थिए ।
दुर्घटनामा मृत्यु हुने महिला विजयको सासूआमा हुन् । घाइते महिलाको मृत्यु भएपछि स्कुटर र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।
Discussion about this post