विराटनगर । विराटनगर हुँदै भारततर्फ जाँदै गरेको कारमा गाँजा भेटिएपछि प्रहरीले कार चालकसहित २ जनालाई सोमबार बिहान पक्राउ गरेको छ ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगर महानगरपालिका–१५ स्थित २ नम्बर ढाटबाट ४३ किलोग्राम गाँजासहित कारमा रहेका २ जनालाई पक्राउ गरिएको हो । भारतको जोगवनीतर्फ जाँदै गरेको बा ८ च ७८८० नम्बरको कारलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा पछाडिको सिटमा लुकाइछिपाइ राखिएको अवस्थामा गाँजा भेटिएको डीएसपी बस्नेतको भनाइ छ ।
उनका अनुसार लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट इन्सपेक्टर प्रकाश थापाको नेतृत्वमा खटिएको संयुक्त टोलीले बिहान ९ बजेतिर कारलाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । कारमा लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो ।
गाँजा बरामद भएपछि कारसहित चालक विराटनगर–१५ का ३२ वर्षीय गणेश चौधरी र कारमा सवार विराटनगर–१३ का २२ वर्षीय राजेश परियारलाई पक्राउ गरिएको बस्नेतको भनाइ छ । कार र गाँजासहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चल्ने छ । इन्सपेक्टर थापा नेतृत्वको टोलीले कानुनी कारबाहीको थप प्रक्रिया अघि बढाउने डीएसपी बस्नेतले बताए ।
Discussion about this post