विराटनगर : विराटनगर–१० सनसारीमाई स्थानस्थित भीमसेन मन्दिर सेवा समितिको आयोजनामा मंगलबार भीमसेन जात्रा निकालिएको छ ।
मन्दिर परिसरमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पर्यटनमन्त्री सदानन्द मण्डलले भीमसेनको मूर्तिमा पूजापाठ गरेर जात्राको शुभारम्भ गरेका थिए ।
मन्दिर परिसरबाट झ्याँकीसहित निकालिएको भीमसेन जात्रा ट्राफिक चोक, महेन्द्र चोक, शनि मन्दिर, भृकुटी चोक, डीएसपी रोड हुँदै अतिथि सदन, जलजला चोक, बुधहाट चोक, रेम्बो गल्ली हुँदै झिः पुचमा पुगेर समानपन भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मण्डलले नेपाल बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक मुलुक भएको बताए । उनले नेपालमा बसोबास गर्ने सबै जातजातिको आ–आफ्नै भाषा, कला र संस्कृति रहेको उल्लेख गरे । आर्थिक रूपमा नेपाल कमजोर भए पनि कला र संस्कृतिमा नेपाल विश्वमै धनी मुलुक भएको मन्त्री मण्डलको कथन थियो ।
नेवारी संस्कृति ऐतिहासिक र धनी संस्कृति भएको उनले बताए । नेवारी संस्कृतिले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा समेत चिनाएको भन्दै मन्त्री मण्डलले भने, ‘नेपालभित्र रहेका सबै जातजातिका आ–आफ्नै कला र संस्कृति छन् । सबैको फरक विशेषता छन् । विराटनगरमा निकालिने भीमसेनजात्रा पनि एउटा महत्वपूर्ण संस्कृति हो भन्ने मलाई लाग्दछ ।’
उनले जात्रालाई निरन्तरता र मन्दिरको संरचना निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठले हरेक वर्ष भीमसेनजात्रा भव्य हुँदै गएको बताए ।
उनले जात्रामा मोरङ जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्ने नेवारी समुदायका व्यक्तिहरूको उपस्थिति हुने क्रम पनि बढेको उल्लेख गरे । ‘भीमसेनजात्रा परारभन्दा पोहोर भव्य भयो । अझै पोहोरभन्दा यसपटक झनै भव्य भयो,’ श्रेष्ठले भने ।
भीमसेन जात्राले युवापुस्तालाई आफ्नो भाषा, कला र संस्कृतिप्रति आकर्षित गर्न सहयोग पुग्ने मन्दिर व्यवस्थापन समितिका महासचिव भविसकुमार श्रेष्ठले बताए ।
नेपाली कला र संस्कृतिमा पाश्चात्य संस्कृतिको प्रभाव बढ्दै गइरहेका बेला भीमसेनजस्ता नेपाली मौलिक संस्कृतिले युवापुस्तामा आफ्नो संस्कृतिप्रति जागरण ल्याउने दाबी गरे । हरेक जातजातिले आफ्नो भाषा, कला र संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको महासचिव श्रेष्ठको भनाइ थियो । भीमसेनलाई लक्ष्मीको अर्को रूपमा पनि हेर्ने गरिएको श्रेष्ठले बताए ।
Discussion about this post