विराटनगर । नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै कोशी प्रदेशमा प्रहरीले सुरक्षा ब्यवस्थालाई कडा पार्न निर्देशन दिइएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङले चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा ध्यान दिन मातहतका प्रहरीलाई निर्देशन दिएका छन् ।
समाजमा शान्ति सुरक्षा कायम राख्दै नजिकिँदो चाडपर्व दसैँ, तिहार, छठलगायतमा उपयुक्त सुरक्षा व्यवस्था मिलाएर त्यही अनुसार प्रहरी परिचालन गर्न उनको निर्देशन छ । कुनै पनि आपराधिक घटना हुन नपाउने गरी चाडपर्व विशेष सुरक्षा योजना अनुसार भरपर्दो सुरक्षा व्यवस्था मिलाउन खापुङले निर्देशन दिए ।
भर्चुअल माध्यमबाट प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुख तथा इलाका प्रहरी कार्यालयका प्रमुखलगायतका प्रहरी अधिकृतहरूलाई उनले मङ्गलवार निर्देशन दिएका हुन् । ‘चाडपर्वलाई सुरक्षित, भयरहित र मर्यादित बनाउने उद्देश्यका साथ आआफ्नो क्षेत्रमा आवश्यक सुरक्षा योजना निर्माण गरी काम गर्नुपर्छ,’ निर्देशन दिँदै उनले भने, ‘चाडपर्वको समयमा हुनसक्ने अवाञ्छित गतिविधि, जुवातास, कालोबजारी, चोरी तस्करी, लागुऔषध एवं आतसबाजी, पटाकाजन्य पदार्थको ओसारपसार र कारोबार नियन्त्रणमा ध्यान दिनुपर्छ ।’
डिआइजी खापुङले चाडपर्वको समयमा सवारीसाधनमा यात्रुको चाप अत्यधिक हुने हुँदा उनीहरूको सहजताका लागि यात्रु सहायता कक्षको स्थापना गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने योजनासहित काम गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीले आमनागरिकहरुलाई प्रदान गर्दै आएको सेवा प्रभावकारी बनाउँदै सचेतनामूलक कार्यक्रमलाई निरन्तर रूपमा सञ्चालन गर्न उनको निर्देशन छ ।
‘पेण्डिङ’ मुद्दाको ‘फलोअप’, फरार अपराधीहरूको तीव्र खोजी र शून्य सहनशीलताका साथ विभागीय नीति निर्देशनलाई अक्षरशः पालना गर्न उनले निर्देशन दिए । भर्चुअल निर्देशन कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रमुख, एसएसपी अबिरनारायण काफ्ले, प्रदेश प्रहरी कार्यालयका एसएसपी भीमबहादुर दाहाललगायतका सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।
Discussion about this post