विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा संविधान दिवस भव्य रूपमा मनाइएको छ ।
प्रदेश सरकारले भव्य समारोहको आयोजना गरेर संविधान दिवस मनाएको हो ।
। दिवसका अवसरमा विराटनगरमा प्रभातफेरी निकालिएको छ । प्रभातफेरीमा विभिन्न १५ वटा जातजातिका झाँकी पनि प्रदर्शन गरिएको थियो । सहिद मैदान अगाडिबाट सुरु भएको प्रभातफेरी अस्पताल चोक, जलजला चोक, मेन रोड, गोल्छा चोक, डाँफे चोक हुँदै आदर्श विद्यालय परिसरमा औपचारिक समारोहमा परिणत भएको थियो ।
प्रभातफेरीमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सांसदहरु, स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकायका उच्चपदस्थहरु, सुरक्षा अधिकारी, सुरक्षाकर्मी, निजामती कर्मचारी, विद्यार्थी, विभिन्न संंघसंस्थाका प्रतिनिधि, खेलकुदकर्मी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
दिवसका अवसरमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङलाई ३ वटै सुरक्षा निकायको संयुक्त टोलीले सलामी अर्पण गरेको छ । संविधान दिवसको अवसरमा आयोजित निबन्ध र वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।
समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, लैंगिक तथा जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक र समतामूलक समाजको निर्माण गर्ने संकल्प संविधानले लिएको उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले संविधानको मर्मलाई बोकेर काम गरिरहेको जानकारी दिए । मुलुकलाई सामाजिक न्यायसहित आर्थिक समृद्धितर्फ अघि बढाउने दायित्व रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले त्यसै अनुरुप प्रदेश सरकार अघि बढेको स्पष्ट पारे ।
समारोहका प्रमुख अतिथि कोशी प्रदेशका प्रमुख परशुराम खापुङ थिए । कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, उपसभामुख सृजना दनुवार, मन्त्रीहरु, उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी, प्रमुख सचिव केदारनाथ शर्मालगायतका उच्चपदस्थहरु उपस्थित थिए ।
Discussion about this post