विराटनगर । विराटनगर जेसीजले स्वर्ण जयन्ती जेसीज सप्ताह अन्तर्गतको दोश्रो कार्यक्रम ‘भविष्य लेख्ने ह्वाइट बोर्ड तथा शैक्षिक सामग्री वितरण’ कार्यक्रम गरेको छ । विराटनगर १४ स्थित बाल माविमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सामग्री दिइएको थियो ।
प्रदेश सभा सदस्य अमृत अर्यालको प्रमुख आतिथ्य तथा पूर्व अध्यक्ष सुशील रिजालको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका लागि आवश्यक ह्वाइट बोर्ड तथा शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
स्वर्ण जयन्ती जेसीज सप्ताहका मुख्य कार्यक्रम संयोजक तुलसी निरौलाले जेसीज बिशुद्ध नेतृत्व र ब्यक्तित्व विकास गर्ने संस्था रहेको भए पनि आवश्यकताका आधारमा समाजमा विभिन्न सेवा समेत गर्न तत्पर रहने गरेको बताए ।
अध्यक्ष अभिनाश थापाले आगामी दिनमा शैक्षिक सामग्री मात्र नभएर विद्यार्थीको ब्यक्तित्व विकासका लागि आवश्यक अन्य विभिन्न तालिम तथा सिकाइका विभिन्न पद्दधतिहरुका लागि विद्यालयले आवश्यक ठानेमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
Discussion about this post