इलाम । इलाममा सञ्चालित प्रथम कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि संखुवासभाले जितेको छ । ब्याडमिन्टनतर्फ जिल्लामा आयोजित ठूलो प्रतियोगिताको उपाधि जित्ने क्रममा खुला डबल्सतर्फ संखुवासभाका प्रविन लिङ्थेप र सिर्जल पोख्रेलको जोडीले भोजपुरका निश्चल खत्री र विशाल तामाङलाई पराजित गरेका हुन् ।
इलाम नगरपालिका-५ बरबोटेस्थित नवनिर्मित कबर्ड हलमा भएको फाइनल खेलमा संखुवासभाले १८ र १४ अंकमा भोजपुरलाई रोकेको हो । विजेता संखुवासभाले ३० हजार प्राप्त गर्यो ।
उपविजेता भोजपुरले २० हजार रुपैयाँमा चित्त बुझायो । प्रोतियोगिताको भेट्रान डबल्सतर्फ सुनसरी प्रथम भयो । सुनसरीका भजन चौधरी र श्रवण चौधरीले पाँचथरका दीपक आङदेम्बे र गणेश राईलाई सोझो सेटमा १५ र १८ अंकमा रोक्दै विजयी बने । त्यस्तै ‘बी’ डिभिजन जिल्लास्तरीय प्रतिष्पर्धामा रमेश खत्री र युगमणी लिम्बुको जोडी प्रथम भयो । यो जोडीले गणेश रसाइली र उज्वल राईलाई १३ र १२ अंकमा रोक्न सफल भयो ।
भेट्रान र ‘बी’ डिभिजनतर्फका विजेताले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ प्राप्त गरे । बरबोटे ब्याडमिन्टन क्लबको आयोजनामा सम्पन्न प्रतियोगिताका विजेता तथा उपविजेता टिमका खेलाडीलाई इलाम क्षेत्र नं. १ का संघीय सांसद महेश बस्नेतले नगद पुरस्कार र ट्रफी प्रदान गरे । प्रतियोगिता फागुन १८ गते सुरु भएको हो ।
राष्ट्रियस्तरका खेलाडीसमेत सम्मिलित भएकाले प्रतिष्पर्धा रोचक बनेको थियो । नयाँ प्रतिभालाई प्रोत्साहन गर्दै जिल्लाभर सय खेलमार्फत युवालाई आर्कषण गर्न र यस क्षेत्रको पर्यटकीय विकासका लागि प्रतियोगिता आयोजना गरिएको आयोजकको भनाइ छ ।
सदरमुकामबाट ५ किलोमिटर टाढा रहेको बिब्ल्याँटेमा ब्याडमिन्टनसहित विभिन्न खेलकुदका कार्यक्रम गर्न सकिने गरी करिब २ करोड रुपैयाँको लागतमा कबर्ड हल निर्माण गरिएको हो ।
Discussion about this post