इटहरी । इटहरी उपमहानगरपालिकाको कार्यपालिका सदस्य विनीता गिरीकी २४ वर्षिया छोरी मनिका गिरी नक्कली डाक्टरको आरोपमा पक्राउ परेकी छिन् ।
यातायात व्यवस्था कार्यालय इटहरीमा बुधवार जिल्ला प्रशासन कार्यालयले छापा मार्ने क्रममा उनलाई पक्राउ गरेको हो । केही समय अघिदेखि यातायातमा बिचौलिया र चालक अनुमति पत्रकालागि गरिने स्वास्थ्य परीक्षणमा अवैध रकमको चलखेल हुने गरेको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय इनरुवाले छापा मारेको हो ।
सोही क्रममा यातायात कार्यालय अगाडि एउटा सटर भएको कोठा भाडामा लिएर सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिँदै आएको थियो ।
निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भनेर ठेक्का कबुल गरेको चिकित्सक मनिष यादव र ठेक्काको चाँजोपाँजो व्यवस्थापन गर्ने इटहरी १२ खनारका सोनु भन्ने सचिंत शाह र उमेश सुब्बा तथा इटहरी उपमहानगरपालिकाका कार्यपालिका सदस्य विनीता गिरीको संलग्नतामा स्वास्थ्य परीक्षणको काम करिब १५ दिनदेखि हुँदै आएको थियो ।
छापा मार्ने क्रममा सोनु साह र उमेश सुब्बा भने उम्किन सफल भएको प्रहरीले स्रोतले जानकारी दिएको छ । तर जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीको नेतृत्वको टोली अचानक यातायात पुगेको थियो ।
केही दिन देखी विशेष निगरानीमा रहेको उक्त कार्यालयमा पुग्दा स्वास्थ्य परीक्षण केन्द्रमा मनिका गिरी स्वास्थ्य परीक्षणमा सक्रिय पाउँदा प्रमुख जिल्ला अधिकारी तिवारीले उनको परिचय मागेका थिए ।
त्यस क्रममा उनी आफू चिकित्सक भएको बताएकी थिइन् । तर प्रमुख जिल्ला अधिकारीले तिवारीले परिचय पत्र देखाउन भनेपछि उनी नक्कली डाक्टर रहेको पाइएको प्रशासनले जनाएको छ ।
उनलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनीसगैं थप १६ जना बिचौलियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले कार्यालयको ढड्डा बाहिर ल्याएर प्रयोग गरिएको पाइएको थियो । पक्राउ परेको सवैलार्इ बिहीबार म्याद थप गराइ थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
Discussion about this post