विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मायालु चोकमा ससुराको हत्या गर्ने युवकलाई भाग्न मद्धत गरेको आरोपमा १ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पथरीशनिश्चरे–७ की ३० वर्षीया सूष्मा राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले बताए । उनका अनुसार घरभित्रै हत्या गरिएको अवस्थामा ६० वर्षीय चन्द्रबहादुर तामाङको शव गत असोज ५ गते बिहान फेला परेको थियो ।
आफ्नै घरको प्यासेजमा रगतमा डुबिरहेको अवस्थामा चन्द्रबहादुरको बीभत्स शव भेटिएको हो । टाउको र चिउँडोलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेर उनको हत्या गरिएको डीएसपी दाहालले बताए । उनका अनुसार चन्द्रबहादुरको हत्या आफ्नै ज्वाइँ २७ वर्षीय रविन राईले गरेका हुन् ।
घरभित्र सँगै बसेर मादक पदार्थ सेवन गरेपछि सामान्य विवाद भएको र रविनले ससुराको हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि फरार भएका रविन भोलिपल्ट धनकुटाको मूलघाटबाट पक्राउ परेका थिए ।
तर, ससुराको हत्यापछि उनलाई सूष्माले भाग्न सहयोग गरेको पाइएको जानकारी डीएसपी दाहालले दिए । ‘ससुराको हत्या गरेपछि सूष्माको घरमा पुगेर रविनले घटनाको जानकारी गराएछन् । त्यसपछि सूष्माले नै उनलाई भगाउन भूमिका खेलेको पत्ता लाग्यो । गाडी भाडाबापत २ सय रूपैयाँसमेत दिएर पठाएको यकिन भएको छ,’ उनले भने ।
घटनाका बारेमा प्रहरीलाई खबर गर्नुपर्नेमा चुपचाप बसेर उल्टै हत्यामा संलग्नलाई भगाउन भूमिका खेलेका कारण पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको दाहालले बताए । उनका अनुसार सूष्माविरुद्ध कर्तव्य ज्यान कसुरको मतियारका रूपमा मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाइएको छ ।
रविनकै बयानका आधारमा सूष्मालाई प्रहरीले मंगलबार घरबाटै पक्राउ गरेको हो । प्रहरीका अनुसार उनका पति जमकुमार राई वैदेशिक रोजगारीमा दुबईमा छन् । सूष्माका १ छोरा र २ छोरी छन् ।
रविन आफ्नै ससुराली घरमा ससुरासँगै बस्दै आएका थिए । रविनको घर पनि ससुराली घरनजिकै छ । चन्द्रबहादुरकी छोरी (रविन)की पत्नी विदेशमा रहेको प्रहरीले जनाएको छ ।
चन्द्रबहादुरका २ छोरा, १ छोरी र पत्नी छन् । पत्नी र छोराछोरी सबै जना विदेशमा रहेको डीएसपी दाहालले बताए ।
मृतक चन्द्रबहादुरको शवको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरिएको थियो । उनको हत्यामा संलग्न रविनविरुद्ध कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
Discussion about this post