बुटवल । नेपालकै प्रतिष्ठित फुटवल प्रतियोगिता ‘तिलोत्तमा गोल्ड कप’को २२ औं संस्करण यही चैत्र ४ गतेदेखि बुटवलमा हुने भएको छ । बुटवल–११ देविनगर स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेपाल फुटबल संघ रुपन्देहीले जनाएको छ ।
विभागीय तथा ए डिभिजन क्लबसहित अन्य प्रतिष्ठित फुटबल टिमहरु बीच हुने प्रतियोगिताको विजेताले तिलोत्तमा गोल्ड कपमा हालसम्मकै सर्वाधिक ११ लाख ११ हजार १११ रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैगरी उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँ नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यसैगरी विधागत तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख नगद राशी प्राप्त गर्ने छ भने उत्कृष्ट फरवार्डर, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचले जनही नगद ३० हजार पुरस्कार राशी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्याद अफदी म्याचले ११ हजार १११ रुपैयाँ नगद राशी प्राप्त गर्ने संघका रुपन्देही अध्यक्ष लोक पुनले जानकारी दिए ।
यो संस्करणमा करेन्ट रुपन्देही–११ सहित मनाङ मर्स्याङ्दी क्लब काठमाण्डौं, नेपाल पुलिस क्लब, एफिएफ क्लब, हिमालयन शेर्पा क्लब, फ्रेन्ड्स क्लब र सुदुरपश्चिम–११ गरी ८ टिमको सहभागिता रहेको रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।
चार वर्षसम्म रोकिएको नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगिता तिलोत्तमा गोल्डकप पछिल्लो संस्करण २०७५ सालमा सम्पन्न भएको थियो । सम्पन्न २१ औं संस्करणको उपाधी चुम्दै क्यामरुन दाउफिन्स क्लबले ८ लाख ८० हजार नगद राशी प्राप्त गरेको थियो ।
प्रतियोगिता बारे जानकारी गराउन बुधबार प्रतियोगिता हुने खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल फुटवल संघका अध्यक्ष दिर्घबहादुर केसी (कुमार)ले यो प्रतियोगिताले केही नयाँ प्रतिभाहरुको पहिचानमा समेत सहयोग गर्ने अपेक्षा व्यक्त गरे ।
प्रतियोगितालाई भव्य र सम्य बनाउन सहयोगको अपेक्षा गर्दै उनले यस क्षेत्रको मात्र नभई मुलुककै लागि महत्वपूण रहेको तिलोत्तमा गोल्ड कप आयोजनाले खेलाडी तथा यस क्षेत्रमा लाग्ने प्रतिभाहरुलाई अवसर प्रादन गर्ने उल्लेख गरे ।
यस क्षेत्रकै पुरानो प्रतियोगिताको रुपमा रहेको तिलोत्तमा गोल्ड कप तत्कालीन बुटवल नगरपञ्चायतले २०३१ सालमा स्थापना गरी २०३३ सालदेखि प्रतियोगिता सुरू भएको थियो । यस पटक प्रतियोगिताको २२ औं संस्करण ४६ वर्षमा हुन लागेको हो । बुटवल उपमहनागरपालिकाको संरक्षकत्वमा रहेको यो प्रतियोगिता विगत २३ वर्षदेखि जिल्ला फुटबल संघले सञ्चालन गर्दै आएको छ ।
०३३ देखि ०३५ सालसम्म नियमित भएको प्रतियोगिता त्यसयता ०३९ सालसम्म हुन सकेको थिएन । त्यसपछि ०४३ सालदेखि ०५१ सालसम्म सात वर्ष रोकिएको प्रतियोगिता ५६ सालमा फेरि रोकिएको थियो ।
०५७ र ०५८ मा दुई वर्ष लगातार सञ्चालन भएपनि ०६४ सालसम्म सञ्चालन हुन सकेको थिएन । त्यसपछि ०६५ सालमा सञ्चालन भएपनि ०६६ मा रोकिएर फेरि ६७ सालमा संचालन भएको थियो ।
०६८ देखि ७० सालसम्म रोकिएको तिलोत्तमा गोल्डकप ०७१ सालमा संचालन भए पनि पछिल्लो पटक ०७२ सालमा संचालन हुन सकेन । त्यसयता लगातार तीन वर्ष भने प्रतियोगिता सञ्चालन हुँदै आएको थियो ।
Discussion about this post