इटहरी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका निवर्तमान सभापति राजीव ढुंगानाले नेविसंघले विद्यार्थीका मुद्दा बोक्नुपर्ने बताएका छन् ।
नेविसंघ सुनसरीले बुधबार इटहरीमा आयोजना गरेको विद्यार्थी आन्दोलन–स्ववियु निर्वाचन र नेविसंघको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेविसंघले पहिलो प्राथमिकता विद्यार्थीका मुद्दा बनाउनुपर्ने उनको भनाइ थियो ।
‘नेविसंघ कांग्रेसको भातृ संस्था मात्रै होइन’ ढुंगानाले भने, प्राथमिकता पार्टी होइन, विद्यार्थीका मुद्दा हुनुपर्छ ।’
चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनलाई लक्षित गर्दै उनले नेविसंघले विद्यार्थीका हक हितका कुरामा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
‘अहिले शिक्षा भनेको व्यापार गर्ने आधार बनिरहेको छ’ ढुंगानाले भने, ‘यसलाई नेविसंघले चिर्नुपर्छ ।’
विश्वविद्यालयमा राजनीतिक भागबण्डाका आधारमा उपकुलपति नियुक्त हुने गरेको भन्दै उनले योग्यता र क्षमताका आधारमा नियुक्त गर्नका लागि नेविसंघले आवाज उठाउनुपर्ने बताए ।
विद्यार्थीहरूले पार्टीभित्रको गुटबन्दीमा रमाउने काम गर्न छाड्नुपर्ने उनले उल्लेख गरे ।
‘शिक्षा लिएपछि रोजगार हुनुपर्ने अवस्था सिर्जना हुनुपर्छ’ ढुंगानाले भने, ‘जीवनोपयोगी शिक्षा आवश्यक छ, शैक्षिक बेरोजगार हुने शिक् भन्दा रोजगार र सीपमूलक शिक्षा महत्वपूर्ण हो ।’
कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका संयोजक तथा जिससका राष्ट्रिय अध्यक्ष राजन मेहताले अहिलेका विद्यार्थीहरू भोलिको नेतृत्व भएको बताए ।
उनले स्ववियु निर्वाचनमा विद्यार्थीका भावना र मर्मको कदर गर्दै सकारात्मक काम गर्ने नेविसंघलाई स्ववियु निर्वाचनमा जिताउन आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ (क) का सभापति सुबेक्षु देवानले अहिलेका विद्यार्थीहरूले कुनै व्यवस्था परिवर्तन गर्न नपर्ने र विचारको आन्दोलनमा अग्रसर हुनुपर्नेमा जोड दिए ।
कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पूर्व उपसभापति विकास केसी, नेविसंघ सुनसरीका पूर्व सभापति शेखर लुइँटेल, मन्दीप भट्टराई, कांग्रेस इटहरी नगर सचिव विक्रम घिमिरे, महेन्द्र बहुमुखी क्याम्पस धरानका इकाई सभापति विवेक लिम्बू लगायतले विद्यार्थीका मुद्दामा ध्यान दिन आग्रह गरेका थिए ।
विद्यार्थी आन्दोलनको औचित्य गराउन नेविसंघलाई जिताउनुपर्ने उनीहरुको भनाइ थियो ।
चैत ५ गते स्ववियु निर्वाचनमा सुनसरीका १० मध्ये ७ वटा क्याम्पसमा निर्वाचन हुँदैछ । जसमध्ये धरानको पिण्डेश्वर विद्यापीठ क्याम्पसमा भने विवाद भएका कारण केही समय निर्वाचन सर्न सक्ने संकेत देखिएको छ ।
नेविसंघ सुनसरीका सभापति प्रमोद भट्टराईको सभाध्यक्षमा भएको कार्यक्रममा सुनसरीका विभिन्न ठाउँबाट विद्यार्थीको सहभागिता थियो ।
Discussion about this post