विराटनगर । मोरङको केराबारी गाउँपालिका–८ मा रहेको कृष्ण क्रसिङ इण्डष्ट्रिजको परिसरमा रहेको खाल्डोमा डुबेर बिहीबार २ नाबालकको मृत्यु भएको छ ।
मृत्यु हुने नाबालक एकै परिवारका दाजुभाइ हुन् । क्रसरको पानी जमेको खाल्डोमा डुबेर केराबारी–८ का तोयानाथ चौलागाईंका छोराहरु ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईंको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरका कामदार रहेको प्रहरीले जनाएको छ । नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको जानकारी प्रहरीले दिउँसो ३ः४० बजेतिर पाएको थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा गएको टोलीले सुरुमा ६ वर्षीय रामचरणको शव खाल्डोबाट निकालेको थियो । पानी जमेको खाल्डोमा घोप्टो परेर मृत्यु भएको अवस्थामा उनको शव भेटिएको थियो ।
खोजी गर्ने क्रममा रामचरणका दाजु १० वर्षीय भूपेनको शवसमेत अहिले साँझ त्यही खाल्डोमा भेटिएको डीएसपी जोशीले बताए । ‘नाबालक दाजुभाइको मृत्यु एउटै खाल्डोमा डुबेर भएको पाइयो,’ उनले भने, ‘भाइको शवलाई बाहिर निकालेर पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।’
दाजुको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन् । क्रसरको चरम लापर्बाहीले घटना भएको आरोप स्थानीयको छ । छानबिन गरेर सत्यतथ्य पत्ता लगाउँदै दोषीमाथि कारबाही नभएसम्म शव निकाल्न नदिने अडान आफन्त र स्थानीयको छ ।
डीएसपी जोशीका अनुसार पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरुको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान छ । यद्यपि, घटनाको अनुसन्धान सुरु गरिएको जानकारी जोशीले दिए ।
स्थानीयका अनुसार क्रसरको कम्पाउण्डबाट केही दिनअघि ‘मिक्स गिट्टी’ निकालिएको थियो । गिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो । तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यत्तिकै छाडेका कारण २ नाबालकले अकालमा ज्यान गुमाएको स्थानीय बताउँछन् ।
खाल्डोको वरिपरि बालुवा, गिट्टी र मिक्स गिट्टी भण्डारण गरेर राखिएको छ । भण्डारणको बीचमा रहेको खाल्डोमा डुबेर २ नाबालकको मृत्यु भएपछि स्थानीय आक्रोसित बनेका छन् । उनीहरुले दोषीमाथि कारबाही हुनुपर्ने, मृतक पक्षलाई क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राखेका छन् ।
उक्त क्रसरमा केराबारी गाउँपालिका पूर्वअध्यक्ष रोहित कार्कीसहित रोशन सुब्बा, विशाल खरेललगायतको लगानी रहेको स्थानीय बताउँछन् । स्थानीय लीलानाथ घिमिरेका अनुसार क्रसरले ठुल्ठूला भौडी (खाल्डा) बनाएको छ ।
‘क्रसरले उत्खनन् गरेपछि भौडी पुर्नुपर्ने थियो । अजंगका भौडी बनाएर त्यत्तिकै छाडेको छ,’ उनले भने, ‘यो चरम लापर्बाही हो । क्रसर संचालकलाई कारबाही हुनुपर्ने माग स्थानीयले गरेका छन् ।’ घिमिरेका अनुसार स्थानीयले क्रसर हटाउनुपर्ने र संचालकलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिरहेका छन् ।
Discussion about this post