इलाम : मेची राजमार्ग अन्तर्गत इलाम माइखोला–गोलाखर्क भन्ज्याङ खण्डमा पूर्ण रूपमा सवारी आवतजावत बन्द भएको छ । शुक्रवार दिउसोदेखि नै सवारी आवागमन बन्द भएको हो । अविरल कारण सडक बगेका कारण सवारी सञ्चालन पूर्ण रूपमा अवरुद्ध भएको हो ।
यो सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भई मोटरसाइकलसमेत वारपार गर्न सक्ने अवस्था नभएपछि यात्रुलाई सास्ती भएको छ । वारीका सवारी वारी नै र पारीका सवारी पारी नै भएका कारण गाडी परिवर्तन गरेर यात्रुले यात्रा गरिरहेका छन् । केही दिन अघि देखी नै साना सवारी मात्र सञ्चालन भएपछि ठुला सवारी सञ्चालनका लागि सडक मर्मत गर्ने क्रममा सडक बगेको जनाइएको छ ।
राजमार्गमा जोखिम धेरै भएपछि आज मर्मत थालिएको थियो । तर, माथिबाट पहिरो झरेर राजमार्ग थप बगेपछि सवारीका साधन बन्द भएको हो ।
शुक्रवार देखी नै सडक मर्मतको काम भइरहेको छ । सवारी सञ्चालन हुन अझै केही दिन लाग्ने बताइएको छ । डिभिजन सडक कार्यालय इलामका अनुसार काम भइरहे पनि सवारी सञ्चालन भने अन्योल नै रहेको छ ।
सवारीका साधन चल्न नसकेपछि यहाँ आइपुगेका सयौँ यात्रु र सवारी साधन अलपत्र परेका छन् । झापातिरबाट आउने सवारी साधन माइखोलामा र इलाम बजारबाट जाने सवारी साधन पहिरोभन्दा माथि पट्टिको सडकमा ताँती लागेका छन् । अहिले झापातिरबाट आएका सवारीले माई खोलाबाट र इलामतिरबाट गएका सवारी साधनले पहिरो भन्दा माथिल्लो क्षेत्रबाट यात्रुलाई सेवा दिँदै आएका छन् ।
उता मेची राजमार्गकै फिदिम दुई रमितेमा समेत समस्या उस्तै छ । रमितेमा पहिरो खसेका कारण यात्रुले सवारी परिवर्तन गरेर यात्रा गर्न बाध्य छन् । दसैँमा घर फिर्ने ताप्लेजुङ, पाँचथर, तेह्रथुम लगायतका बासिन्दालाई सास्ती भएको छ ।
सो स्थानमा समेत सडक पन्छाउने कार्य भइरहेको छ । पानी परिरहेका कारण सडक पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन ।
विशेष गरेर पूर्वी पहाडी जिल्लामा दसैँमा खाद्यान्न अभाव हुने देखिएको छ ।
Discussion about this post