धरान : नेपालका प्रसिद्ध शक्तिपीठहरूमध्ये धरान उपमहानगरपालिका वडा नं. १४ स्थित विजयपुरमा रहेको पीण्डेश्वर बाबाधाम, बुढासुब्बा, दन्तकाली, पञ्चकन्या मन्दिर छन् । जसले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई लोभ्याउने गरेका छन् ।
विजयपुरको दक्षिण भेगमा पिण्डेश्वर बाबाधाम, बीच भागमा दन्तकाली मन्दिर, उत्तर पूर्वतर्फ बुढासुब्बा मन्दिर र उत्तर पश्चिमतर्फ पञ्चकन्या मन्दिर रहेको छ । पूर्वी क्षेत्रमा अवस्थित धरान, नेपालकै एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको सहर हो । धार्मिक पर्यटनका लागि धरानको यी शक्तिपीठहरूको दर्शन गरे चारधाम गए सरह हुने विश्वास छ ।
जानकारहरूका अनुसार विजयपुर नेपालको ऐतिहासिक तथा धार्मिक स्थल हो । धार्मिक ग्रन्थमा विजयपुरको पुरानो नाम ‘वेदीपुर’ उल्लेख भएको पाइन्छ । विजयपुरमा रहेको यी मन्दिरहरूप्रति आस्था राख्ने दर्शनार्थीहरू पूर्वी पहाड र तराईबाट आउने गरेका छन् ।
खासगरी बर्खाको समयमासमेत प्रतिकुल यात्राकाबीच यहाँ दैनिक सयौं भक्तजनहरू आउने गरेका छन् ।यसैगरी धरानमा रहेका प्रसिद्ध मन्दिरहरूमध्ये अर्को हो, बुढासुब्बा मन्दिर । बुढासुब्बा मन्दिरमा अन्य मन्दिरमाजस्तो भगवानहरूको मूर्ति छैन । तर, यस मन्दिरभित्र माटोको दुई वटा ढिस्को रहेको जानकारहरू बताृँछन् । जसलाई बुढासुब्बाको शिर र पाउको रूपमा पूजाआजा गरिदैँ आएको पाइन्छ ।
यो मन्दिरमा नेपालमा कहीँ पनि नपाइने टुप्पो बिनाको बाँसहरू पाइने र यहाँ प्रेमी प्रेमिकाले आफ्नो नाम लेखेर डोरो बाँधेमा प्रेम पूर्ण हुने विश्वाससमेत छ । यहाँ रहेका बाँस वर्षमा एकपटक बैशाखे पूर्णिमाको दिन काटिन्छ । र, काटेको बाँसको टुक्रा प्रसादको रूपमा घरमा लगेर राखे रख्खे हुने, घरमा सुख, शान्ति छाउने मान्यता रहेको पूजारी ध्रुब आले मगरले बताए । उक्त दिनबाहेक सो बाँसलाई ढले, भाँचे पनि उठाउन नमिल्ने मान्यता रहेको उनले बताए ।
उनकाअनुसार बुढासुब्बा मन्दिर किम्बदन्तीसँगै जोडिएको उक्त बाँसको प्रजाति तीन शताब्दी पुरानो मानिन्छ । ‘बुढासुब्बाको बाँसमा टुप्पो नहुनुको कारण ऐतिहासिक कालमा लिम्बू दाजुबहिनी शिकार खेल्दै विजयपुर आइपुगेपछि अलप भए र शिकारीको धनुषवाण पलाएकाले बाँसको टुप्पो नभएको हो भन्ने किम्बदन्ती छ,’ मगरले भने । बुढासुब्बामा हालसम्म पूजारी मगरसहित १६ औँ पुस्ताले पूजारीको काम गरिसकेको उनले जनाए । यहाँ दाजुको मुख्य र बहिनीको सुब्बेनी मन्दिर रहेकोसमेत उनको भनाइ छ ।
‘टुप्पो बिनाको हरियो बाँसका बोटहरूमा युवायुवतीले प्रेमको चिनोस्वरूप नाम खोपे जोडी नछुट्ने मान्यता रहेकोले थुप्रै प्रेमिप्रेमिकाहरूले आफ्नो नामाको अगाडिको अक्षरको नाम खोप्ने गर्छन्,’ उनी भन्छन्, ‘पछिल्लो समय बाँसको संरक्षण गर्न नाम लेख्न प्रतिबन्ध लगाई धागो बान्ने प्रचलन छ । जसले गर्दा भक्तजनहरूको मनोकामना पूरा हुने विश्वास छ ।’
यसैगरी विजयपुरको दक्षिण भेगमा रहेको पिण्डेश्वर बाबाधाम पौराणिक कथाअनुसार देवता र दानव मिलेर समुद्र मन्थन गर्दा निस्किएको विष र अमृतमध्ये अमृतलाई छानेर फलेको छोक्रा पिण्ड बनाई फालेको स्थानका रूपमा लिइने जानकारहरू बताउँछन् ।
यस मन्दिरभित्र वरपर १० वटाभन्दा स–साना मन्दिरहरू (मूर्ति) छन् । यहाँ विशेषगरी साउन महिनामा बोलबमको रौनक हुन्छ । त्यससँगै महाशिवरात्री, तीज लगायतका चाडपर्वहरूमा धेरै भीड हुने गर्छ भने अधिकांशले आफ्ना पितृका नाममा श्रद्धासमेत गर्छन् ।
खासगरी साउन महिनामा बराहक्षेत्रस्थित सप्तकोसी नदीबाट जल लिएर पिण्डेश्वर मन्दिरमा जल चढाउनेको संख्या धेरै हुने गरेको समितिका अध्यक्ष विकास बनेपालीले बताए ।
‘धेरैजसो भक्तजनहरू खाली खुट्टा हिँडेर सप्तकोसी नदीबाट जल ल्याएर चढाउने गर्छन्,’ उनले भने, ‘खासगरी नेपालका धेरै जिल्लासहित भारतबाटसमेत भक्तजनहरू जल चढाउनकै लागि आउने गरेका छन् ।’
यसैगरी दन्तकाली मन्दिर विजयपुर डाँडाको मध्य भागमा अवस्थित छ । मध्यकालतिर कालिकाका नामले चिनिने यो मन्दिर भगवान शिवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा सतीदेवीको शरीर गल्दै ५१ टुक्रामा विभाजित भई पृथ्वीको विभिन्न स्थानमा खस्न पुगको किवंदन्ती छ ।
जसमध्ये विजयपुरको पर्वतखण्डमा दाँत खसेको स्थल दन्तकालीका नामबाट परापूर्वकालदेखि नै पूजित हुँदै आएको धार्मिक तथा ऐतिहासिक तथ्य रहेको छ । उक्त किंवदन्ती स्वस्थानीको कथामासमेत उल्लेख छ । यस मन्दिरमा सतीदेवीको दाँत अझै पनि सुरक्षित रहेको पूजारी पुष्पलाल खनालले बताए ।
यहाँ नेपालसहित बाहिरी देशबाट पनि भक्तजहरू आउने गरेका छन् । खासगरी बुढासुब्बा र पिण्डेश्वरी भ्रमणमा आएका भक्तजनहरू दन्तकाली पुगेकै हुन्छन् । यो मन्दिरमा बोका, राँगा आदिको बली दिने प्रचलन छ । प्रत्येक वर्ष घटस्थापनाको दिनदेखि विजयादशमीसम्म अझ अष्टमी, नवमी र दशमीको दिन शुभ मानिन्छ ।
उक्त दिन दुर्गाको पूजा तथा आराधनाबाट निरोगी रहने, दुःख दरिद्र नहुने, शत्रु वर्गबाट डराउनु नपर्ने र सदा पराक्रम रहने धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्य मान्यता रहिआएको पूजारी खनाल बताउँछन् । यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवसरमा पनि दन्तकालीमा मेला लाग्ने गर्दछ । त्यस समयमा मन्दिरमा भक्तजनको घुँइचो लाग्ने उनले सुनाए ।
उक्त मन्दिर प्यागोडा शैलीमा निर्माण भएको छ । यसको उचाई ३४९ मी (१,१४५ फिट) रहेको छ । यो मन्दिर वि.सं. २०३५–३६ सालसम्म सामान्य प्रकारको थियो भने हाल यस स्थानमा ‘भव्य शैलीको मन्दिर बनाइएको खनालले बताए ।
यसैगरी विजयपुरमै पञ्चकन्या मन्दिर पनि धार्मिक तथा ऐतिहासिक हिसाबले महत्वपूर्ण मानिन्छ । यहाँ पञ्चकन्या र पाथीभरादेवीको मन्दिर स्थापना गरिएका छन् । यस मन्दिरबाट धरानको सौन्दर्य अवलोकन गर्न सकिने र भताभुङ्गे राजाको दरबारसमेत जान सकिन्छ ।
विजयपुरमा रहेको यी शक्तिपीठहरू धार्मिक पर्यटकको रोजाइमा पर्दै जाँदा यहाँ धािर्मक पर्यटक बढ्दै गएका छन् । नेपालका विभिन्न जिल्लाहरूसहित छिमेकी देश भारतबाट धेरैजसो भतmजनहरू आउने गरेका छन् । साथै, भूटान र वर्मालगायतबाट भक्तजन आउने गरेको स्थानीय व्यापारीहरू सुनाउँछन् ।
आफ्नो काममा अवरोध आउँदा यहाँका मन्दिरहरूमा भाकल गर्ने र भाकल पूरा भए यी मन्दिरहरू दर्शन गर्न आउनेसमेत गरेको धरान–२० निवासी सुशीला राईले बताइन् । उनले आफूसमेत विभिन्न चाडपर्वलगायतमा आउने गरेको बताइन् ।
‘मानिसहरूमा जतिनै आधुनिकता बढेपनि आस्था र विश्वास मनमा हुन्छ,’ उनले भनिन्, ‘धरानका मन्दिरमा हरेक शनिबार भीड हुने गर्दछ । जसकारण धरान धार्मिक गन्तव्य पनि हो भन्न सकिन्छ ।’
Discussion about this post