काठमाडौं । उपराष्ट्रपतिमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ । जनमत पार्टीकी ममता झा,समाजवादीका रामसहाय यादब र एमालेकी अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता भएको हो।
झाले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उपराष्ट्रपतिमा उम्मेदवारी गराएकी हुन् । सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भए पनि जनमत त्यसमा सहमत भएको छैन । निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । सोहीअनुसार जनमतले महिलालाई उम्मेदवार बनाएको हो ।
उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहाय यादवले उम्मेदवारी दर्ता गरेका छन् । शनिबार विहान संघीय संसद भवनस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीसँगै जसपा नेताहरु अशोक राई, मनिष सुमन, प्रदीप यादव, सुशीला श्रेष्ठ संघीय संसद भवन नयाँ बानेश्वर पुगेका थिए ।रामसहायको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका रमेशजंग रायमाझी छन् ।
समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् । उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उम्मेदवार यादवले निर्वाचित भए मुलुकको संविधानको रक्षा, गर्न संवर्द्धन गर्ने राष्ट्रिय एकताका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जसपाबाटै नेतृ प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गर्दैछिन् । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुनेछ । एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन् ।
उपराष्ट्रपति पदमा नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु पनि संघीय संसद भवन पुगेका थिए । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।
Discussion about this post