धरान । कोशी प्रदेश नाम खारेजी माग गर्दै संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दको धरानमा आंशिक प्रभाव परेको छ ।
लामो दूरीका सवारी साधन चलेका छैनन् । शैक्षिक संस्था, भानुचोक आसपासको बजार ठप्प छन् भने भानुचोक बाहिर साना सवारी साधनहरु गुडिरेहका छन् ।
पहिचानका आधारमा नभइ खोला नालाको नामलाई नै प्रदेशको नाम दिइएको भन्दै पहिचानको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले बन्दको आह्वान गरेको हो ।
हिजो प्रदेशका मुख्य मुख्य सहरमा राँके जुलुस समेत निकालिएको थियो । ‘प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति’ ले बन्दको घोषणा गरेको हो ।
समितिमा किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ, जनता समाजवादी पार्टी, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, किरात साझा खम्बुवान पार्टी लगायतको मोर्चा बन्दी रहेको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका सुनसरी अध्यक्ष अमर इजमले जानकारी दिए ।
कोशी राजमार्ग नजिकै शंकास्पद बस्तु
इटहरी–२० कोशी राजमार्गनजिक कालो झण्डासहित शंकास्पद बस्तु फेला परेको छ । प्रेसर कुकुरमा तार जोडेको अवस्थामा उक्त स्थानमा विष्फोटक पदार्थ राखिएको हुन सक्ने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीबाट टोली गएर घेरा दिइएको छ । सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको जनाइएको छ ।
सवारी साधन तोडफोड
झापाको बिर्तामोड १ मा ट्रक तोडफोड गरिएको छ । ना८ख ३३३९ नम्बर ट्रकलाई मोटरसाइकलमा आएका पाँचजनाले तोडफोड गरेको प्रहरीले जनाएको छ ।
यस्तै, चारपानेमा लु २ ख ६२४५ नम्बर को ट्रकको अगाडिको सिसा फुटाइएको छ ।
पसल बन्द गराउँदै हिँडेका अर्जुनधारा ११ का कुमार साङयो लिम्बु, सामी पालिम्बा लिम्बु, गौरिमान राईलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी आदिवासी जनजाति महासंघका ओमप्रकाश खापुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
Discussion about this post