संखुवासभा : संखुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा अरुण तेस्रो जलविद्युत परियोजनाको काममा लगाइएको भल्भो टिपर बुधबार साँझ दुर्घटना हुँदा २ जना भारतीय मजदुरको मृत्यु भएको छ ।
दुर्घटनामा २ जना भारतीय नागरिक घाइते भएका छन् । अरुण तेस्रो जलविद्युत परियोजनाको ड्याम साइडमा काम गरेर फर्किने क्रममा आफैं अनियन्त्रित भएर एचपी ११–४९३३ नम्बरको टिपर साँझ ७ बजेतिर दुर्घटनामा परेको संखुवासभा प्रहरी प्रमुख डीएसपी दक्षकुमार बस्नेतले बताए । उनका अनुसार टिपर सडकबाट करिब ५० मिटरजति तल खसेको थियो ।
दुर्घटनामा परेर ज्यान गुमाउनेमा अरुण तेस्रोका मजदुर भारतीय नागरिकहरु छन् । टिपर चालक भारतीय नागरिक ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र टिपरमा सवार २९ वर्षीय सारुक महमदको मृत्यु भएको जानकारी डीएसपी बस्नेतले दिए । दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको थियो ।
चिकित्सकले बिहीबार बिहानका राति करिब पौने ४ बजेतिर मृत घोषणा गरेका हुन् । दुर्घटनामा परेर भारतीय नागरिक २८ वर्षीय योगेन्द्र पाल र ४० वर्षीय ईश्वर पासवान घाइते भएका छन् । दुवै जना टिपरमा सवार थिए । गम्भीर अवस्थाका पासवानलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ ल्याइँदै छ ।
सामान्य अवस्थाका पालको खाँदबारी अस्पतालमै उपचार भइरहेको छ । पासवान बिहार र पाल उत्तर प्रदेशका बासिन्दा रहेको डीएसपी बस्नेतले बताए । उनका अनुसार भिरालो ठाउँमा टिपर दुर्घटना भएका कारण तत्काल उद्धार सम्भव भएन ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट कच्ची सडक र खाल्डाखुल्डीका कारण दुर्घटना भएको पत्ता लागेको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट करिब ५६ किलोमिटर उत्तरमा पर्छ । घटनाको थप अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।
Discussion about this post