काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गरेका छन् ।
तत्कालीन राष्ट्रपति रामवरण यादवलाई बिदाइ गर्दै २०७२ कात्तिक ११ देखि विद्यादेवी भण्डारीले राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी थिइन् ।
दोस्रो कार्यकाल २०७४ फागुन २९ सुरु गरेकी उनी नयाँ राष्ट्रपति चयन भएपछि बिदा भएकी हुन् । उनको कार्यकाल हिजो आइतबार सकिएको थियो ।
कस्तो रह्यो त भण्डारीको दुई कार्यकाल ? यसमा अनेक कोणबाट बहस र टिप्पणी हुने गरेको छ ।
भण्डारीमाथि संवैधानिक राष्ट्रपतिको भूमिका उचित तवरले पूरा गर्न नसकेको भन्ने आरोप लाग्दै आएको छ ।
राष्ट्रपति निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकी थिइन् । उनीमाथि एमाले र त्यसको नेतृत्वको इसाराअनुसार चलेको भन्ने आरोप लागेको थियो ।
संविधानको संरक्षक भए पनि राष्ट्रपतिलाई कुनै स्वविवेकीय अधिकार छैन । तर, नेपाली कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा संसद्का दुवै सदनबाट दुईपटक पारित गरेर पठाइएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेर आफूलाई कार्यकारीजस्तो देखाइन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते र सर्वोच्चले बदर गरिदिएपछि दोस्रोपटक २०७८ जेठ ८ गते मध्यरातमा गरेको संसद् विघटनलाई सिफारिस गरेर भण्डारी आलोचित बनिन् ।
राष्ट्रप्रमुखका रुपमा खेल्नुपर्ने भूमिकाभन्दा माथि उठेर राजनीतिक विषयमा समेत पटक(पटक चासो दिएको भन्दै उनीमाथि आरोप लाग्यो ।
अझ तत्कालीन माओवादी र एमाले मिलेर बनेको नेकपाको विवाद समाधानका लागि पहल गरेको विषय पनि उनको कार्यकालको विवादित विषय नै बन्यो ।
एउटै विषयमा सरकारको नेतृत्व हेरेर व्यवहार गरेको प्रस्टै देखिने गरी भण्डारीका गतिविधि भएका थिए । अन्तिम समयसम्म आइपुग्दा पनि सवारीको विषयलाई लिएर राष्ट्रपति र संस्थामाथि आलोचना भइरहे तर सुधारका लागि ध्यान दिएको देखिएन ।
नेपालको प्रथम महिला राष्ट्रपतिका रुपमा इतिहास लेखनको अवसर भण्डारीले पाइन्, तर उनीमाथि राष्ट्रपतिको पदलाई कार्यकारीजस्तो बनाएको आरोप मात्रै लागेन, उनले देखाएको सक्रियताकै कारण दलहरुले त्यसैमा चर्को राजनीतिसम्म गरे ।
Discussion about this post