विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले एक महिनामा ९ करोड २४ लाख रुपैयाँ बराबरको राजश्व चुहावट नियन्त्रण गरेको छ ।
सोमबार विराटनगरस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा मोरङका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिपक पोखरेलले माघ २३ गतेयता राजश्व चुहावट नियन्त्रणमा उपलब्धि हासिल गरेको बताए ।
प्रहरी प्रमुख पोखरेलले स्रोत नखुलेको ३२ लाख ६५ हजार, विगो रकम ७ करोड १९ लाख ६८ हजार, गरि कुल ७ करोड ५२ लाख ३३ हजार रुपैयासंगै ३ वटा मोटरसाइकल, ९ जना मानिस सुनसरीको इटहरीस्थित राजश्व कार्यालयमा बुझाएको जानकारी दिए।
पत्रकार सम्मेलनमा उनले विराटनगर भन्सार कार्यालय रानीमा ८७ लाख १५ हजार, ५ वटा सवारी साधनसंगै ११ जना मानिस पक्राउ गरि बुझाएको बताए। यसक्रममा राजश्व छलि गरि भारततर्फ पैठारी गरिरहेको अवस्थामा ५२ लाख रुपैयाबराबरको १ लहरीसहित २८ लाख रुपैया बराबरको जुटको समान बरामद गरेको जानकारी दिए ।
प्राकृतिक स्रोत दोहन गर्ने क्रममा जिल्लाका विभिन्न स्थानमा १३ वटा साधन नियन्त्रणमा लिएको बताएका प्रहरी प्रमुख पोखरेलले ११ जना फरार प्रतिवादी पक्राउ गरेको बताए । जसमा ११ वर्ष ९ महिना बराबरको कैद सजाय २ लाख ६६ हजार बराबरको जरिवाना असुल गरेको जानकारी दिए ।
मोरङ प्रहरीले गएको एक महिनामा तीन वटा कर्तब्य ज्यानका घटनामा संलग्नलाई पक्राउ गरि कानूनी दायरामा ल्याएको हो। जसमा बेलबारी नगरपालिका, सुनवर्षी नगरपालिका र बुढीगंगा गाँउपालिकामा भएका कर्तब्य ज्यानका घटनामा उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख पोखरेलले बताए।
यसक्रममा गत बिहीबार बेलबारी नगरपालिकामा देवी महतोको हत्या आरोपमा उनका श्रीमान् हेमकर्ण महत रहेको उनले जानकारी दिए। तर उनी हाल फरार रहेको प्रहरीले जनाएको छ ।
त्यसअघि, फागुन १७ गते सुनवर्षी नगरपालिकामा १४ वर्षीय बालक विशाल माझीको हत्या आरोपमा वीरेन्द्र पासवान र डल्ली पासवानलाई पक्राउ गरेको थियो । त्यसैगरि, गत फागुन ७ गते विराटनगर १९ की प्रियंका सोनारको हत्यामा संलग्न आरोपमा कटहरीका रमानन्द यादव, उमेश सरदार, दुहबीका सिलिराम चौधरी र विराटनगरका किशोर कामतलाई पक्राउ गरेको हो ।
Discussion about this post