विराटनगर । बचतकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा प्रहरीले तुलसी सहकारी संस्थाका ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
मोरङ प्रहरीले सहकारीका क्षेत्रीय प्रबन्धकसहित आठजनाविरुद्ध ठगी मुद्दा दर्ता गरेको हो ।
आफूहरु ठगिएको भन्दै १२१ जना बचतकर्ताहरुले सहकारीविरुद्ध उजुरी दिएका थिए ।
उजुरीका आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । सहकारी संस्थाकी उपाध्यक्ष मोरङको उर्लाबारी–६ की अनिता गौतम, सचिव झापाको भद्र्रपुर–१४ घर भई विराटनगर–३ बस्ने सबिना न्यौपाने र क्षेत्रीय प्रवन्धक विराटनगर–२ का मन्दिप खवासलाई प्रहरीले पक्राउ गरेको हो ।
मोेरङका प्रहरी उपरीक्षक दीपक पोखरेलका अनुसार फरार रहेका संस्थाका ५ जना पदाधिकारीको खोजी भइरहेको छ । पक्राउ परेकाहरुको बैंक खाता र सम्पत्ति रोक्का गरिएको छ ।
देशका विभिन्न स्थानमा कार्यक्षेत्र बनाएको विराटनगर–२ मुनालपथमा मुख्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाले हालसम्म उजुरी दिएका १२१ जना बचतकर्ताको १२ करोड ९ लाख ४ हजार ४८७ रुपैयाँ ठगी गरेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सहकारीका देशभर २१ हजार ७१३ जना सदस्य छन् । तीमध्ये ४ हजारभन्दा बढी सदस्यहरु विराटनगरस्थित मुख्य कार्यालयसँग आबद्ध छन् ।
बचतकर्ताको रकम हिनामिना गरेको उजुरी पीडितहरुले प्रहरीसमक्ष दिएका थिए ।
२०५२ चैत १३ गते सहकारी विभागमा दर्ता भएको तुलसी सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा समेत सेवा केन्द्र छ ।
सहकारीका अध्यक्ष केदारनाथ शर्मा हुन् ।
Discussion about this post