काठमाडौँ । तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । छठका लागि अहिले काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि टेण्ट राख्ने कार्य करिब करिब अन्तिम चरणमा पुगेको छ ।
छठ पूजाका लागि काठमाडौँका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण भएको छ ।
यस क्षेत्रमा पाँच सय ६७ वटा छठघाट अर्थात् पूजा स्टल निर्माण सुरु गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले जानकारी दिए । उनले भने, “हामीले पाँच सय ६७ वटा छठ घाट अर्थात् पूजा स्टल निर्माण गरेका छौँ, आज बिहान ९ बजेसम्म पाँच सय ५० वटा स्टल बुक भइसकेका छन् ।”
चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाय अरबा अरबाईन भोजन गर्ने गर्दछन् । दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण गरी खरना गर्दछन् । त्यस्तै तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन गरिन्छ ।
पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले रु तीन लाख दिने जानकारी गराएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताले बताए । उनले भने, “पशुपति क्षेत्र विकास कोषले तीन लाख दिने आश्वासन दिएको छ, छठ सकिएपछि उहाँहरुले उक्त रकम दिनु हुन्छ ।”
यसैगरी कमलपोखरीमा पनि छठको तयारी भइरहेको र टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ । उनले कमलपोखरीमा २६० वटा बस्ने टेन्ट बनाएको समितिले जनाएको छ । छठका लागि काठमाडौँका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा रहेका नदीहरुलाई सफाइ बनाइएको छ ।
छठपर्वमा श्रद्धालु भगवान श्री सूर्यनारायणको पूजा गर्ने गर्छन् । काठमाडौँ उपत्यका बाहिर रहेका विभिन्न जिल्लाका पोखरीमासमेत छठपर्वलाई लिएर सरसफाइका साथै सजाउने कार्य भइरहेको छ ।
Discussion about this post