काठमाडौँ । नेपालमा बालश्रमको अन्त्य नहुनुको प्रमुख कारण गरीबी र पारिवारिक विग्रह भएको एक अध्ययनले देखाएको छ । काठमाडौं उपत्यकामा श्रम गरिरहेका करिब ४ सय जनामा गरिएको अध्ययनको निष्कर्षबाट गरीबी र पारिवारिक विग्रह नै बालश्रमको प्रमुख कारण रहेको औंल्याएको हो ।
महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था क्लारिसा नेपालले गरेको एक अध्ययनको निष्कर्षका रुपमा गरीबी र पारिवारिक विग्रह नै बालश्रमको प्रमुख कारण रहेको उजागार गरिएको छ । सोमबार पत्रकार सम्मेलन गरेर उक्त संस्थाले अध्ययनको निष्कर्ष निकालेको हो ।
अध्ययनका क्रममा संस्थाले करिब ४ जना जनामा अध्ययन गरिएको र अध्ययनमा २५ वर्षसम्मका युवा युवतीलाई समेत समावेश गराइएको थियो । अध्ययनका क्रममा काठमाडौंमा रहेका वयस्क मनोरञ्जन क्षेत्रमा निकृष्ठ प्रकारका बालश्रम, शोषण र यौनजन्य दुर्व्यवहार रहेको औंल्याएको छ ।
संस्थाले काठमाडौँका डान्सबार, क्याबिन रेष्टुरेण्ट, स्पा तथा मसाज पार्लर, दोहोरी रेष्टुरेण्ट र साना खाजा घर तथा अन्य वयस्क मनोरञ्जन केन्द्रमा पुगेर त्यहाँ कार्यरत बालबालिका तथा युवा युवतीसँग व्यक्तिगत कुराकानी गरी अध्ययन गरेको थियो । उपत्यकाका गोंगबु, कलङ्की, ठमेल, दरबारमार्ग, सुन्धारा, कोटेश्वर, मनोहरा लगायत क्षेत्रका प्रमुख वयस्क मनोरञ्जन स्थलहरुमा अध्ययन गरिएको संस्थाले जनाएको छ ।
अध्ययनका क्रममा नेपालका ग्रामिण क्षेत्रबाट बालबालिका तथा युवतीहरु कसरी काठमाडौँका श्रम बजार वा वयस्क मनोरञ्जन केन्द्रसम्म आइपुग्छन् र किन आउँछन् भन्ने विषयमा समेत अध्ययन गरेको थियो । अध्ययनले परिवारको आर्थिक अवस्था र पारिवारिक विग्रह र काठमाडौँमा काम गर्ने बालबालिकामा अन्तरसम्बन्ध रहेको तथ्य औंल्याएको छ ।
Discussion about this post