इलाम : नेकपा एमाले इलामको जिल्ला अधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्दो छ । अशिवेशन कात्तिक २९ र ३० गते इलाम सदरमुकाममा हुँदैछ ।
एमालेको ११ औँ जिल्ला अधिवेशनका लागि कात्तिक २१ गते एकैपटक प्रतिनिधि छनौटको काम सम्पन्न भएको छ ।
अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव दुई जना गरी पाँच जना पदाधिकारीसहित एक सय पाँच जनाको जिल्ला कमिटी एमालेको ११ औँ जिल्ला अधिवेशनले चयन गर्नुपर्नेछ ।
जिल्लाका १० स्थानीय तह, तीन इलाका कमिटी, एक शाखा कमिटी र २१ जनवर्गीय संगठनबाट प्रतिनिधि छनौट भएको जनाइएको छ ।
अधिवेशनका लागि पाँच सय ८३ जना प्रतिनिधि छनौट भएका छन् । जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौट भइसकेपछि जिल्ला कमिटी, पदाधिकारीका आकाक्षिहरूको चर्चा हुन थालेको छ ।
सदरमुकामको गौतम बुद्ध सभा गृहमा सञ्चालन हुने ११ औँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा गणेश बराल र नरेन्द्र भट्टराईको नाम चर्चामा छ । उनीहरूबीच प्रतिष्पर्धा हुने निश्चितप्रायः छ ।
देउमाई नगरपालिका ८ स्थायी घर भएका बराल २०३६ सालबाट बाल रेडगार्डमार्फत बामपन्थी राजनीतिमा लागेका हुन् । उनी साविक जीतपूर गाविसका अध्यक्ष पनि हुन् । अहिले नेकपा एमाले अधिवेशन आयोजक समितिका अध्यक्ष रहेका बराल ९ औँ अधिवेशनमा अध्यक्षमा उमेद्धवारी दिएका थिए ।
उनले ९ औँ अधिवेशनको पराजयलाई बिर्साउने योजनाका साथ ११ औँ अधिवेशनमा अध्यक्ष पदमा विजयी हुने योजनाका साथ प्रतिनिधिसँग छलफल गर्दै आएको बताए । बाल रेडगार्ड, विद्यार्थी संगठन, युवासंघका विभिन्न पदमा काम गरेका बरालले २०५५ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका थिए ।
उनी जिल्ला कार्यालय सचिव भई काम समेत गरेका छन् । उनी जिल्ला समन्वय समिति इलामका पूर्व उप–प्रमुख पनि हुन् । बराललाई २०८१ असार ५ गते भएको प्रदेश कमिटिको बैठकले जिल्ला अध्यक्षमा मनोनित गरेको थियो ।
११ औँ अधिवेशनका लागि बराल देउमाई नगरपालिका ४ बाट सर्वसम्वत प्रतिनिधि छनौट भएका छन् ।
यसैगरी भट्टराई इलाम नगरपालिका ६ बाट जिल्ला अधिवेशनमा प्रतिनिधि छनौट भएर अध्यक्ष बन्ने तयारीमा रहेको बताइन्छ । उनी अहिले प्रतिनिधिका घरघरमा पुगेर मत मागिरहेको ृउनी निकटहरू बताउँछन् ।
२०२७ सालबाट पार्टीमा रेडगार्ड सदस्यबाट बामपन्थी राजनीतिमा सक्रिय भएका भट्टराई अहिले नेकपा एमालेको केन्द्रिय सल्लाहाकार परिषद् सदस्य छन् ।
Discussion about this post