इलाम । स्वतन्त्र बिद्यार्थी युनियन (स्वबियू) निर्वाचनको मिति नजिकिँदै गर्दा विद्यार्थी संगठन र उम्मेदवारहरु विद्यार्थीमाझ विभिन्न एजेण्डा लिएर पुगिरहेका छन् । गठबन्धन बनाएर उनीहरु चुनावमा होमिएका छन् ।
मातृ पार्टीकै सिको गर्दै भातृ संस्थाका रुपमा रहेका विद्यार्थी संगठनले गठबन्धन बनाएर सक्रिय भएका छन् । नेपाली काँग्रेस र नेकपा माओबादी केन्द्र गठबन्धनमा छन् ।
तिनै पार्टीका भातृ संस्था बिद्यार्थी संगठनको गठबन्धन इलाममा भने फरक बनेको छ । काँग्रेसको भातृ संस्था नेविसंघ र माओबादी केन्द्रको भातृ संस्था अनेरास्वबियू क्रान्तिकारी इलाममा भने फरक फरक गठबन्धन बनाएर चुनावी अभियानमा होमिएको छ ।
नेविसंघ सहितको गठबन्धनबाट स्वबियू अध्यक्षमा नेविसंघका याकु राईलाई साझा उम्मेद्धार बनाएको छ ।
उम्मेद्धारहरु विद्याथी बसेको घरघरमा भोट माग्दै पुग्न थालेका छन् । विद्यार्थी बसेको घर र गाउँमा रहेको विद्यार्थीको घरमा नै पुगेर पनि उम्मेद्धारहरुले भोट मागिरहेका छन् ।
महेन्द्रत्न बहुमुखी क्याम्पसमा हुने स्वबियू निर्वाचनमा नेविसंघले नेकपा एकस्कृत समाजबादी पार्टी निकट अनेरास्ववियू, जनता समाजबादी पार्टी निकट समाजबादी बिद्यार्थी यूनियनसँग गठबन्धन बनाएको हो ।
बिप्लव नेतृत्वको नेकपा निकट अनेरास्वबियू क्रान्तिकारी पनि गठबन्धनमा सहभागि हुने भनेपनि उसले एकल उम्मेदवारी दर्ता गराएको छ । उता नेकपा माओबादी निकट अनेरास्ववियू क्रान्तिकारीले भने नेकपा एमाले निकट अनेरास्वबियु र राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन (राप्रबिस) संग गठबन्धन गरेर निर्वाचनमा होमिएको छ ।
अनेरास्ववियू सहितको गठबन्धनबाट अनेरास्ववियूका दर्शन कुलुङ राईलाई अध्यक्षको साझा उम्मेदवार बनाएको छ ।
उनीहरुले जित्ने दावी गरेका छन् । नेविसंघ सहितको गठबन्धनका उम्मेद्धार राईले क्याम्पसमा देखिएको बिकृति बिसंगतिलाई अन्त्य गर्नु पहिलो काम हुने बताए । उनले विद्यार्थीका साझा समस्यामा आफु साथ दिन समेत मैदानमा उत्रीएको बताए ।
अखिल सहितको गठबन्धनका उम्मेद्धार दर्शन कुलुङ राईले क्याम्पसमा विद्यार्थीलाई हुने समस्या अन्त्यको लागि आफ्नो उम्मेद्धारी रहेको बताए ।
गठबन्धन बनाएर निर्वाचनमा होमिएका बिद्यार्थी संघगठनका जिल्ला नेतृत्वले आफनो संगठनले जित्ने दाबि गर्दै आएका छन् । बिद्यार्थी संगठनबीच भएको गठबन्धन अलिकति अनौठो नै देखिएपनि सत्ता गठबन्धन दलको बिद्यार्थी संगठन एक भएर जान धेरै छलफल भएपनि सहमति नजुटेपछि फरक संगठनबीच एलायन्स हुन पुगेको बिद्यार्थी नेताहरु बताउँछन् ।
मरब क्याम्पसमा सातवटा बिद्यार्थी संगठन दर्ता भएका छन् । जसमा स्वतन्त्र बिद्यार्थी प्यानलबाट (अनेरास्वबियु, अनेरास्वबियू क्रान्तिकारी र राप्रबिसले संयुक्त रुपमा उम्मेद्धारी दर्ता गराएका छन् ।
यस्तै लोकतान्त्रिक समाजबादी प्यानल (नेविसंघ, अनेरास्वबियू र समाजबादी बिद्यार्थी यूनियनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराउँदा बिप्लव निकट अनेरास्वबियू क्रान्तिकारीले छुट्टै प्रत्यक्षमा अध्यक्ष र समानुपातिकमा दुईजनाको उम्मेद्धारी दर्ता गराएको स्वबियू निर्वाचन समितिका अधिकृत कृष्ण खत्रीको भनाई छ ।
मरब क्याम्पसमा १९ सय ४१ बिद्यार्थीले मतदान गर्नेछन् । इलाममा इलाम क्याम्पस सहित मंगलबारे बहुमुखी क्याम्पस र गरुवा बहुमुखी क्याम्पसमा स्ववियुको निर्वाचन हुँदै छ ।
१४ बर्षदेखि देशभर र १७ बर्षदेखि इलाम क्याम्पसमा स्ववियू निर्वाचन हुन सकेको छैन । यस क्याम्पसमा हुने स्ववियू निर्वाचनलाई निकै चासोको रुपमा हेरिएको छ ।
स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहायक सचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।
त्रिभुवन विश्वविद्यालयका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो ।
Discussion about this post