प्रकाश तिम्सिना
इटहरी । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आफ्ना उम्मेदवार जिताउन सबै विद्यार्थी संगठन सक्रिय भएका छन् ।
सुनसरीमा मुख्यगरी नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीनिकट विद्यार्थी संगठन आफ्ना उम्मेदवारलाई जिताउन लागि परेका छन् ।
जिल्लामा भएका सात सरकारी र आङ्गिक क्याम्पसमध्ये धरानको पिण्डेश्वर विद्यापिठमा सहमतिमा स्ववियु गठन भइसकेको छ । अन्य छ क्याम्पसमा चैत ५ गते चुनाव हुँदैछ ।
यस अघिको २०७३ सालको निर्वाचनलाई हेर्ने हो भने सातमध्ये पिण्डेश्वर विद्यापीठ धरान र सुनसरी बहुमुखी क्याम्पस इनरुवामा निर्वाचन हुन सकेको ंथिएन ।
त्यो वर्ष अनेरास्ववियु केन्द्रीय प्रविधि क्याम्पस धरान, इन्जिनियरिङ क्याम्पस धरान र जनता बहुमुखी क्याम्पस इटहरी गरी तीन क्याम्पसमा विजयी भएको थियो । नेपाल विद्यार्थी संघले सप्तकोशी क्याम्पस बराहक्षेत्रमा जितेको थियो । धरानमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भने स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका थिए ।
यो पटकको विद्यार्थी संगठनहरु आ–आफ्नै रणनीतिअनुसार चुनावमा होमिएका छन् । केही क्याम्पसमा एकल भिड्दै छन् भने अधिकांश क्याम्पसमा संयुक्त प्यानलबनाएर चुनाव लड्दैछन् ।
यसअघि तीनक्याम्पस जित हासिल गरेको अनेरास्ववियु त्यो संङ्या बढाउने रणनीतिमा छ । अनेरास्ववियु जिल्ला अध्यक्ष नवराज खड्का क्याम्पसको अवस्था हेरेर गठबन्धन गरेकाले यो वर्ष जितको संङ्या बढ्ने दाबी गर्छन् ।
सुनसरी क्याम्पसबाहेक नेतृत्व अन्य संगठनलाई नछोडेको उनको भनाई छ । इटहरीको जनता क्याम्पसमा हिजो हरेक आन्दोलनमा एकै ठाउँमा रहेको अनेरास्ववियु (क्रान्तिकारी) सँग संयुक्त प्यानल बनाएर अघि बढेको बताए । अध्यक्ष खड्काले धरानका तीनैवटै क्याम्पसमा उम्मेदवार सक्षम र नेतृत्व गर्न सक्ने भएकाले जितको संङ्या बढ्ने बताए ।
‘हामीले धेरै पक्ष हेरेर उम्मेदवार उठाएका छौं’ उनले भने ‘पार्टीगत भन्दा पनि विद्यार्थीको समस्यालाई ध्यान दिने व्यक्ति उम्मेदवार भनाएका छौं । यसले हाम्रो सम्भावना बढी छ ।’
भर्खरै जिल्ला नेतृत्व सम्हालेका नेपाल विद्यार्थी संघ जिल्ला सभापति प्रमोद भट्टराई २०७३ को निर्वाचनसँग यो वर्षको चुनाव तुलना हुन नसक्ने बताउँछन् । जिल्लाभर सप्तकोशी क्याम्पसबाहेक अन्य जित्न नसकेको नेविसंघले योपटक सबै क्याम्पसमा उत्तिकै सक्षम उम्मेदवार उठाएको सभापति भट्टराईको दाबी छ ।
जिल्लाका छ मध्ये चार क्याम्पसमा राप्रविसंघ, अनेरास्ववियु (क्रान्तिकारी), सविसंघसँग गठबन्धन गरेको नेविसंघले यो पटकको निर्वाचनमा राम्रो उपस्थिति देखाउने भट्टराईको भनाइ छ ।
चार क्याम्पसमा गठबन्धन गरेको संगठनले नेतृत्व भने सबै आफैंसँग राखेको छ । ‘हामीले गठबन्धन गर्ने समयमा त्यहाँका विद्यार्थीको आवश्यकता अनुसार गरेको हो’ सभापति भट्टराई भन्छन् ‘विद्यार्थीका हरेक समस्यामा पुगेका र पुग्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाएका छौं ।’
२०७३ सालमा जिल्लामा शून्य भएको माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) यो पटकको निर्वाचनमा आफ्नो राम्रो उपस्थिति देखाउने दाबी गर्छ ।
धरानको पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसबाहेक जिल्लाका सबै क्याम्पसमा अन्य संगठनसँग गठबन्धन गरेको क्रान्तिकारी उम्मेदवार दिएका पदमा जित निकाल्ने तयारीमा जुटेको छ ।
जिल्ला अध्यक्ष नवीन दाहाल विद्यार्थीका शैक्षिक मुद्दाअनुसार संयुक्त प्यानल बनाएर चुनावमा होमिएको बताउँदै बिगतको वर्षभन्दा उल्लेख्य प्रगतिगर्ने उनको विश्वास छ ।
‘हामीले पार्टीको झण्डा बोकेका व्यक्तिलाई हैन विद्यार्थीका मुद्दा बोकेकालाई उम्मेदवार बनाएका छौं’ उनी भन्छन् ‘जुन आवश्यकताअनुसार गठबन्धन गरेका छौं, त्यसैअनुसार हामीजितनजिक छौं ।’
Discussion about this post