झापा । युवा उद्योगी आदित्य पराजुलीको अध्यक्षतामा भद्रपुर क्रिकेट संघ गठन गरिएको छ ।
भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयमा बिहीबार बसेको एक भेलाले पराजुलीको अध्यक्षतामा १७ सदस्य भद्रपुर क्रिकेट संघ गठन गरिएको हो ।
संघको उपाध्यक्षहरूमा मनोज श्रेष्ठ र राजन भट्टराई, महासचिवमा टहलदास मैनाली, सचिवमा शिवु बुढाथोकी र कोषाध्यक्षमा अजय साहेवाला चयन भएका छन् । त्यस्तै सदस्यहरूमा विशाल राई, शेखर खड्का, अङ्कित सुवेदी, सागर कार्की, प्रवेश कामती, विपिन महतो, गिरीश शाक्य, भरत गुरुङ, कविन राई, स्मिज ढकाल र प्रज्ज्वल राई छन् ।
त्यसैगरी वडाध्यक्ष गौरव सुब्बा (मनोज)को संरक्षकमा सात सदस्य सल्लाहकार समिति गठन गरिएको छ । समितिको सल्लाहकारहरूमा छत्रप्रसाद अधिकारी, टीकाराज ढकाल, किशोर पराजुली, प्रकाश अधिकारी, राजेश गुप्ता र दीपेश ढकाल छन् ।
भद्रपुर क्रिकेट संघलाई जिल्ला प्रशासन कार्यालय झापामा दर्ता गरेर आधिकारिक संस्थाको रूपमा चलायमानसँगै राष्ट्रिय स्तरीय क्रिकेट प्रतियोगिता गराउने लक्ष्य राखेको जनाइएको छ ।
भर्खरै भद्रपुर नगरपालिकाको संरक्षण मेची रङ्गशाला भद्रपुरमा अन्तर्राष्ट्रियस्तरको भद्रपुर झापा गोल्डकप भव्य र सफल रुपमा सम्पन्न भएसँगै सोही पदाधिकारीहरूले क्रिकेट खेललाई पनि जगेर्ना गर्न लागि परेको बताइएको छ । नवगठित संघले मेची बहुमुखी क्याम्पस भद्रपुर परिसरभित्र रहेको क्रिकेट खेल मैदानलाई पुनः मर्मत सम्भार गर्ने भएको छ ।
२०६५ जेठ २१ गतेदेखि २०९० जेठ २० गतेसम्मको लागि नेपाल क्रिकेट संघ र मेची बहुमुखी क्याम्पसबीच मेची क्याम्पस क्रिकेट मैदान सञ्चालनको लागि दुई पक्षीय सम्झौता भएको थियो । २०६७ फागुनमा सोही मैदानमा बिनेश बर्मा स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन भइसकेको छ ।
Discussion about this post