इलाम । अलैँची मासिन थालेपछि किसान चिन्तित भएका छन् । खोल्सीको कालो सुनका रुपमा परिचित नगदेबाली अलैँची मासिन थालेपछि चिन्ता छाएको हो ।
छिर्के, फूर्के र जुरजुरे रोगका कारण अलैँची मासिन थालेपछि किसानहरु घरखर्च चलाउन नै समस्या हुने बताउँछन् ।
मकैबारी मासेर अलैँची लगाएका किसानहरु उत्पादन नभएपछि समस्यामा परेका छन् । विभिन्न रोगका कारण मासिएर पुनः बौरिएको अलैँची डढुवा रोगले ग्रस्त छ ।
उक्त रोगले हरियो बगान सुक्न थालेको देउमाई नगरपालिकाका घनश्याम खतिवडाको भनाई छ । जुरजुरे रोगका कारण मासिएर शून्य जस्तै भएको अलैँची पुन जाग्दै गएको भएपनि फेरि मर्न थालेको किसान खतिवडाको भनाई छ ।
रोगका कारण एकपटक लगभग मासिने अवस्थामा पुगेको अलैँची फेरि जोखिममा परेको छ । छिर्के, फूर्के जस्ता रोगका कारण बालीमा डढुवा लागेझैँ भएको र अलैंची बाली मासिने क्रम बढेपछि किसानले बैकल्पिक बाली लगाउन थालेका छन् ।
दुई वर्ष अगाडि इलामको देउमाई नगरमा अलैँची बालीका लागि ‘ब्लक’ कार्यक्रम सञ्चालन भयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यक्रम सम्पन्न भएपछि अलैँचीको विस्तार भयो ।
अलैँचीको राम्रो उत्पादन हुन थालेपछि बारी नै मासेर यो खेती गर्न थालेका किसान पुनः अन्य खेती गर्ने भएकाले अलैँची मास्न थालेको बताउन थालेका छन् । उनीहरुले अलैँची पहिला जस्तो लामो समय नटिक्ने भएपछि अरु खेतीतर्फ लाग्न परेको बताउन थालेका छन् ।
सन्दकपुर, रोङ गाउँपालिका र सूर्योदय नगरपालिका क्षेत्रमा समेत अलैँची बाली मासिने क्रममा छ । किसानहरुले अलैँची बाली मासिन थालेपछि बैकल्पिक नगदे बाली लगाउन थालेका छन् । अलैँची उत्पादन घट्दै गएपछि मूल्य भने प्रतिमन ३० हजारभन्दा माथिसम्म पुगेको छ ।
हाल किसानहरुले मासिएको अलैँची बारीमा घाँस लगायत अन्य कृषि जन्य बस्तु लगाउन थालेका छन् । अन्य बाली लगाउनु पर्दा किसानहरुमा निराशा छाएको देउमाई कृषि सहकारी संघ मंगलबारेका देउकुमार रानाले बतए ।
गत वर्ष जिल्लामा पाँच सय ७६ मेट्रि टन अलैँची उत्पादन भएकोमा यो वर्ष उत्पादन र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । एक हजार ६ सय हेक्टर क्षेत्रमा अलैँची लगाइएको भएपनि ढुसीजन्य रोग, डढुवा र प्रतिकूल मौसमका कारण अलैँची वगान मासिँदै गएको छ ।
अलैँची कच्चा पदार्थका रुपमा भारत र खाडी मुलुक निर्यात हुने गरेको छ । अलैँची बाली संरक्षणमा किसानलाई प्रोत्साहित गर्न थप कार्यक्रम आवश्यक देखिएको छ । किसानहरुले सौलियतका कार्यक्रम ल्याएर किसानलाई सहयोग गर्नुपर्ने माग गर्दै आएका छन् ।
Discussion about this post