काठमाडौँ । मुलुकको नयाँ उपराष्ट्रपति चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ।
निर्वाचनका अन्तर्गत आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
निर्वाचनमा नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा र जनता समाजवादी पार्टी (जसपा), नेपालबाट रामसहायप्रसाद यादव उम्मेदवार रहेका छन्।
सहायक निर्वाचन अधिकृत शर्माका अनुसार उपराष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का सदस्यले रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ।
मतदाताले मतपत्रमा उम्मेदवारको तस्बिर र नाम अङ्कित रहेको कोठामा स्वस्तिक छाप लगाई मतसङ्केत गर्नुपर्नेछ।
सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसा सदस्यको मतभार ४८ कायम रहेको छ।
निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता रहेका छन्।
Discussion about this post