इटहरी । सुनसरीको इटहरीमा रहेको नेपाल दयानन्द बैदिक मिसन (डिभिएम) ले अभिभावक दिवस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
इटहरी ९ स्थित विद्यालय परिसरमा भएको कार्यक्रमलाई पतञ्जलि विश्वविद्यालयका निवर्तमान उपकुलपति डा. वाचस्पति कुलवन्तले सम्बोधन गरेका थिए ।
दयानन्द मिसनबाट सञ्चालित नेपालको एकमात्र उक्त विद्यालयले विभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई सामाजिक स्वीकृति अन्तर्गत सम्मान समेत प्रदान गरेको छ ।
सम्मानित हुनेहरुमा बिज्ञापन बोर्डका सदस्य एवम नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष पवन अधिकारी र सामाजिक व्यक्तित्व एवम लेखक मोहन तिमल्सिना छन् ।
प्रमुख अतिथि एवं पतञ्जलि विश्वविद्यालयका निवर्तमान उपकुलपति डा. कुलवन्तले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । विद्यालयका १२ भन्दा बढी अभिभावकलाई पनि सम्मान गरिएको थियो ।
यसैगरी विद्यालयका उत्कृष्ठ शिक्षक र शिक्षिकालाई नगद पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत हुनेहरुमा अम्बिका थापा, जुनु लिम्बु, अस्मिता पोख्रेल, युगल बराललगायत रहेको प्रिन्सिपल डा. बेणुप्रसाद सिटौलाले बताए ।
कार्यक्रममा अधिवक्ता रमेशकुमार पोख्रेल, हिसान सुनसरीका अध्यक्ष सागरप्रसाद भट्टराई, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष थानेश्वर ढकाल, इटहरी उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख फाल्गुणी काफ्ले, विद्यालयका अध्यक्ष ध्रुव सुब्बालगायतले बोलेका थिए ।
प्रमुख अतिथि डा. कुलवन्तले वैदिक शिक्षा अहिलेको आवश्यकता रहेको बताएका थिए ।
उनले विद्यार्थी र शिक्षकहरुले देखाएको अनुशासन र नैतिक ज्ञानले आफू निकै प्रभावित भएको बताए ।
घोकन्ते विद्याभन्दा व्यावहारिक शिक्षा दिंदै आएको विद्यालयले शैक्षिक प्रदर्शनी पनि आयोजना गरेको थियो । विद्यार्थीहरुले घर, स्वस्थकर खाना, जनावारहरु, सेन्सरवाला डस्बिन, पार्कलगायत बनाएका थिए ।
मन्टेश्वरी तालिम लिएर विद्यालयमा अध्यापनरत शिक्षिका पूजा कार्कीले विद्यार्थीको चेतनास्तर बृद्धि गर्दै विभिन्न विषयमा जानकारी दिने उद्देश्यले हस्तकलाका सामग्री बनाइएको बताइन् ।
कार्यक्रममा विद्यार्थीले नृत्य एवं प्रहसन प्रदर्शन गरेका थिए । विद्यालयका प्रिन्सिपल डा. सिटौलाले विद्यार्थीलाई किताबी पढाइमा मात्र सीमित नराखी सामाजिक क्रियाकलापहरुमा पनि सहभागी गराउँदै आएको बताए ।
Discussion about this post