विराटनगर । पहिचानवादी नेता पूर्वमन्त्री गोपाल किरातीले पहिचानको आन्दोलनलाई मान्यता दिनुको साटो दबाउने प्रयास भइरहेको भन्दै सरकारको चर्को विरोध गरेका छन् ।
पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने माग गर्दै आज विराटनगरमा गरिएको प्रदर्शनपछि आयोजित सभामा बोल्दै उनले आन्दोलन दबाउन सरकारले बल प्रयोग गरेको बताए ।
पहिचानलाई दबाउन खोजे राजतन्त्र जस्तै दबाउनेहरु समाप्त हुने उनले दाबी गरे । आफूहरुको माग बेवास्ता गरी दबाउन खोजिए अस्तित्वका लागि पुनः बन्दुक उठ्न सक्ने चेतावनी पनि उनले दिए ।
प्रदेशको नामकरण पहिचानको आधारमा नभएसम्म आन्दोलन जारी रहने र अरु क्षेत्रमा पनि विस्तार हुने किरातीले बताए ।
विगतमा किरात वर्कस पार्टी बनाएर किरात प्रदेशको लागि भन्दै सशस्त्र आन्दोलन गरेका किरातीले पछि वर्कस पार्टीलाई माओवादीमा एकीकरण गराएका थिए । अहिले पनि माओवादी केन्द्रबाट अलग भएर छुट्टै अभियान चलाइरहेका छन् ।
कोशी नामकरणको विरोधमा बिहानैदेखि विराटनगरमा प्रदर्शन गरिएको थियो ।
मोरङ प्रशासनले प्रदर्शनलाई ध्यान दिंदै निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञाको बेवास्ता गर्दै प्रदर्शनकारीले निरन्तर प्रदर्शन गरेका थिए ।
उनीहरुले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुतला जलाउनुका साथै चर्का नाराबाजी गर्दै उनको विरोध गरेका थिए ।
प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच पटक पटक झडप समेत भएको थियो । त्यस क्रममा केही प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् ।
निषेधित क्षेत्रमा प्रवेश गरेका चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
Discussion about this post