काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्यले प्रधानमन्त्री पुष्पकमल दाहालले जनताको विश्वास गुमाइसकेको दाबी गरेका छन् ।
राजनीतिमा विचित्रको ‘लीला’ देखाउन थालेकाले प्रधानमन्त्री दाहाललाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको उनको टिप्पणी छ ।
इच्छुक सांस्कृतिक प्रतिष्ठानले आईतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महासचिव वैद्यले ओलीलाई खत्तम पार्छु भनेर लाग्ने, फेरि ओलीको शरणमा परेर सरकार बनाउने तर टिकाउन नसकेर प्रधानमन्त्री दाहालले जनतामा केही हुन्छ कि भन्ने विश्वासलाई पनि ध्वस्त पारिदिएको आरोप लगाए ।
उनले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालगायतका सत्ता र त्यसका अवयवहरु ‘मरेको लासड जस्तै अवस्थामा पुगेको उल्लेख गर्दै नयाँ राज्य सत्ता निर्माणका लागि तयार रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
‘यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नुपर्छ । कार्यपालिका पनि असफल, न्यायपालिका पनि असफल, व्यवस्थापिका पनि असफल भएको देख्यौँ नि हामीले’ वैद्यले भने, ‘सबै असफल छन् । काँग्रेस त असफल नै हो । पुरानो सत्ता र व्यवस्थालाई चलाउन भनेर कम्युनिष्ट आन्दोलनको नेताहरु भनौ कि गद्दारहरु भनौं । थाम्न भनेर गए । त्यो पुरानो व्यवस्थालाई काँध थाप्न थाले । काँध थापेर के गर्ने त्यो गनाएर बसेको लास जस्तैलाई काँध थापेर के गर्ने ?’
महासचिव वैद्यले वर्तमान राज्यसत्ता सञ्चालनका लागि काँग्रेस असफल भइसकेको र कम्युनिष्ट नेताहरुलाई पनि जनताले विश्वास गर्ने अवस्था नरहेकाले नयाँ राज्य व्यवस्था स्थापना गर्ने बलियो आधार बन्दै गएको बताए।
उनले मुलुकमा आर्थिक संकट चुलिएको र त्यसलाई टालटुल पारेर अघि बढ्ने अवस्था नरहेको समेत बताए ।
Discussion about this post