काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार (आज) विश्वासको मत लिँदैछन्।
प्रतिनिधिसभा बैठकमा प्रचण्डले विश्वासको मत लिने कार्यसूची छ। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले यो कार्यकालमा दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
नेकपा एमालेलगायत दलको समर्थनमा सरकार बनाएका उनले पहिलोपटक पुस २६ गते संसदमा विश्वासको मत लिएका थिए। थिए। त्यसवेला उनले करिब ९९ प्रतिशत सांसदको विश्वास मत प्राप्त गरेका थिए।
राष्ट्रपति निर्वाचनको विषयमा मनमुटाव भएपछि एमालेसँगको गठबन्धन टुटेको थियो। गठबन्धन टुटेपछि नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएका थिए।
प्रचण्डलाई चैत १२ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
संसदको विश्वास प्राप्त गर्न १३८ मत आवश्यक पर्छ। सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२ सिट छ। यस्तै कांग्रेसको ८९ सिट छ।तर एक जनाले मताधिकार पाउँदैनन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको तीन सिट छ। यस्तै जनमोर्चाको एक सिट प्रतिनिधि सभामा छ। गठबन्धनको मतअनुसार प्रचण्डलाई बहुमतका लागि सहज अवस्था छ।
आइतबारको प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा प्रचण्डले सोमबार शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताए।
Discussion about this post