बेलबारी । आइसिसी विश्वकप क्रिकेट लिग दुईको अन्तिम खेलमा संयुक्त अरब इमिरेटस(युएई) लाई पराजित गर्दै विश्वकपको छनोटमा प्रवेश पाएको नेपाली टिमका २ खेलाडीलाई बेलबारी क्रिकेट क्लबले कोशी प्रदेशमै पहिलोपटक नगद सहित सम्मान गर्ने भएको छ ।
बेलबारी क्रिकेट टिमबाट यसअघि बिभिन्न प्रतियोगितामा भाग लिएका उप कप्तान दिपेश कँडेल र खेलाडी ललितबहादुर राजबंशीलाई जनही नगद ११ हजार १ सय ११ रुपैँया सहित सम्मान गर्न लागिएको बेलबारी क्रिकेट क्लबका अध्यक्ष ऐश्वर्यप्रसाद आचार्य (बिपिन) ले जानकारी दिए ।
बुधबार बिहान एक कार्यक्रमका बिच बेलबारीमा उनीहरुलाई सम्मान गर्न लागिएको क्लबका कोषाध्यक्ष सुनिल खनालले बताए । बेलबारी क्रिकेट क्लबबाट समेत खेलेका उनीहरुले नेपाली क्रिकेटलाई विश्वसामु चिनाएको भन्दै उनीहरुलाई सम्मान गर्न लागिएको खनालले बताए ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग दुईको अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेटस(युएई) लाई पराजित गर्दै विश्वकपको छनोटमा प्रवेश पाएको हो । खराब प्रकाशका कारण खेल रोकिँदा नेपाल डकवर्थ लुइस नियमअनुसार ९ रनले विजयी भएको थियो ।
सन् २०१९ देखि सुरुआत भएको आइसिसी (अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल) विश्वकप क्रिकेट लिग दुईबाट शीर्ष तीन स्थान हासिल गर्ने स्कटल्यान्ड, ओमन र नेपालले विश्वकप छनोटको यात्रा तय गर्न सफल भएका छन् । विभिन्न सात राष्ट्र सम्मिलित विश्वकप क्रिकेट लिग दुईबाट स्कटल्यान्ड पहिलो, ओमन दोस्रो र नेपाल तेस्रो स्थानमा रहँदै जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म हुने विश्वकप छनोटमा प्रवेश पाएका हुन् । यससँगै अब नेपालले जिम्बावेमा हुने विश्वकप छनोटमा टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग खेल्न पाउने पक्का भएको छ ।
Discussion about this post