पवन अधिकारी
झुम्का (सुनसरी) । कुनै पनि काममा सफल हुन कडा मेहनत गरेर मात्र पुग्दैन । सफलताका लागि धैर्य अर्को महत्वपूर्ण पक्ष हो । उस्तै महत्वपूर्ण कुरा हो– निरन्तरता अनि इमान्दारी । यति कुराको मिश्रण भएपछि मेहनत गर्ने मान्छेले अनेक हण्डर, ठक्कर खाए पनि सफलताको स्वाद नचाखी छाड्दैन । यसको एउटा गतिलो उदाहरण हुन्– भरत कार्की ।
उनले के भोगेनन् होला र ? पारिवारिक दुःख, कष्ट, अभाव जस्ता पीडाहरुका माझबाट उनी हरेस नखाइकन निरन्तर अघि बढिरहे । अथक परिश्रमको फल, आज उनी सफल उद्यमीका रुपमा स्थापित भएका छन् ।
कुनै बेला पैसा कमाउनकै लागि एसएलसी सक्नेत्तिकै नेपाल प्रहरीमा भर्ना भएका भरतले जागिर जीवन ८ वर्षभन्दा बढी लम्ब्याउन पाएनन् । प्रहरीमै रहँदा छोरा बिरामी परे । उनलाई बिसेक गराउन पूरा समय दिनुपरेकाले उनले जागिरलाई निरन्तरता दिन सकेनन् । हरतरहले उपचार गराए । लाखौं खर्च भयो तर पनि छोरालाई बचाउन सकेनन् ।
यसरी उनले जागिर पनि गुमाए अनि छोरा पनि । असह्य पीडामा रहेका बेला छोराको उपचार गर्दा लागेको ऋण तिर्नुपर्ने अर्को चुनौती सामने आइपर्यो । अनि लागे वैदेशिक रोजगारीमा मलेसिया ।
त्यहाँ उनले तीन वर्ष श्रम गरे। छोराको उपचारमा लागेको ऋण तिर्न पुग्ने अनि अलिअलि पैसा बच्ने अवस्था पनि भयो। नेपाल फर्किए ।
फर्किएर उनले कुखुरापालन व्यवसाय सुरु गरे । मेहनत गर्ने बानी छँदै थियो। सानै लगानीबाट सुरु गरे । उनको मेहनतले बिस्तारै परिणा दिन थाल्यो । व्यवसाय बढ्दै गयो । अहिले उनी सफल ब्यावसायीका रुपमा कहलिएका छन् ।
आफूमात्र सफल बनेका होइनन् । उनले सयौंजनालाई रोजगारी पनि दिएका छन् । उनलाई थाहा छ, स्वदेशमा रोजगारी नपाएर विदेशतिर भौंतारिनुपर्दा कस्तो हुन्छ भनेर । त्यसैले उनले स्थानीय युवालाई रोजगारीको अवसर दिने गरेका छन् ।
व्यवसायलाई निरन्तरता दिंदै उनी सामाजिक कामहरुमा पनि आफूलाई व्यस्त राख्छन् । उद्योग बाणिज्य संघ रामधुनीको उद्योग सचिव रहेका कार्की लायन्स क्लब रामधुनीको सदस्य तथा नेपाल दाना उद्योग संघको केन्द्रीय सदस्यसमेत छन् ।
२०३६ भदौ १६ गते ओखलढुंगाको साबिक कुन्तादेवी गाबिसमा सामान्य परिवारमा जन्मिएका कार्कीको ब्यावसायिक यात्रा निकै रोचक र संघर्षपूर्ण छ ।
परिवारका अधिकांश सदस्य प्रहरीमै रहेकाले एसएलसी पास गर्नासाथ उनले पनि नेपाल प्रहरीमा जागिर खाए । जागिरकै सिलसिलामा २०५६ सालमा सुनसरीको झुम्कामा बसोबास सुरु गरेका थिए ।
त्यसबेला जागिरबाट आउने मासिक ३ हजार रुपैयाँ र छोराको उपचारका लागेको ऋण सम्झदै उनी भन्छन्, ‘सपनाजस्तो लागेर आउँछ अहिले सम्झँदा । यसरी व्यवसाय गर्छु भन्ने कल्पना पनि थिएन ।’
जागिर छाड्दा उनलाई धेरैले कुरा काटे । छँदाखाँदाको जागिर छाडेकामा खिसी गरे । हुन पनि त्यसबेला सरकारी जागिर पाउन सजिलो थिएन । उनले त पाइरहेको जागिर छाडेका थिए । तर छाड्नु उनको रहर थिएन । बाध्यता थियो, जसलाई धेरै कमले मात्र बुझेका थिए । त्यसैले धेरैले चाहिँ खिसी नै गरे । तर उनले वास्ता गरेनन् ।
मलेसियामा उनले सकेसम्म समय खटेर काम गरे । दैनिक १२ घण्टासम्म सुरक्षा गार्डका रुपमा उनले काम गरे । जब विदेशबाट फर्किएर तीन वर्षमा आए । खिसी गर्नेहरु जहाँको त्यहीँ थिए । उनीहरुले भने, ‘प्रहरीको जागिर छाडेर विदेश गयो, त्यहाँ पनि तीन वर्ष टिक्न सकेन ।’
मान्छेको मुख थुन्नु भएन । अनेक टीका टिप्पणी गर्नेहरुलाई ओठे जवाफ दिंदै हिँड्नु पनि ठिक भएन । उनले बेवास्ता गरे । मुखले होइन कामैले उनीहरुको मुख बन्द गराउँछु भन्ने अठोट थिए ।
फर्किएर छोराको उपचारमा लागेको ऋण तिरे । बाँकी पैसाले कुखुरापालन सुरु गरे । आफूसँग भएको पैसा अलि अपुग हुने भएपछि ऋण समेत लिए ।
आफ्नो पूरै मेहनत र श्रम लगाएर उनले व्यवसायलाई ध्यान दिए । चल्ला हुर्कँदै गए । उनको मेहनतले आकार लिन थाल्यो । दुई महिनाका कुखुरा बिक्री गरेर उनले ६५ हजार रुपैयाँ आम्दानी गरे ।
उनको सफलतामा श्रीमती भावना बस्नेतको मेहनत पनि मिसिएको छ । रातदिन नभनी उनले पूरा समय दिएर भरतलाई सघाइन् । सघाइन् के भन्नु, एक मन भएर काम गरे उनीहरुले ।
दुवैको मेहनतका कारण पहिलो पटक नै ६५ हजार कमाइ हुँदा उनीहरुले हर्षका आँशु खसाए । तर त्यतिमा रोकएनन् । अझ मेहनत गर्दै गए । पहिलो कमाइ व्यवसायमै लगाए । ५ सयवटा कुखुरा पाल्ने योजनाका साथ काम अघि बढाए ।
त्यति कुखुराबाट झण्डै १ लाख रुपैयाँ कमाउन सफल भए । सफलता बढ्दै जाँदा व्यवसायलाई अझ व्यवस्थित बनाउनेतिर ध्यान केन्द्रित गरे । विस्तार हुँदै गएको व्यवसायका लागि पर्याप्त संरचना थिएन । खोलको आकार बढाए । कुखुराको संख्या बढाउँदै लगे ।
पछिल्लो पटक उनले एक साथ दुई हजार कुखुरा अटाउने खोर बनाएका छन् । खोरसहित अरु संरचना समेटेर उनको अब व्यवस्थित फर्म बनेको छ ।
कुखुरा पालनमा मात्र सीमित भएनन् । भरतले कुखुराका दानाको व्यापारतिर पनि हात हालेका छन् । केही साथभिाइको सल्लाहनुसार उनले ‘उत्तम पोल्ट्री सप्लायर्स’ सञ्चालन गरे ।
त्यसमार्फत् उनले कुखुराका लागि दाना, चल्ला समेत बिक्रीसुरु गरे । डिलरसिप लिएर यससम्बन्धी ज्ञान हासिल गरेका उनलाई साथीहरुसँग मिलेर फिड्स खोल्ने रहर भयो । अनि अमूल्य फिड्स नामक व्यवसाय सुरू गरे । यो व्यवसाय पनि उत्साहजनक रुपमा सफल हुँदै आयो ।
उनले फेरि रामधुनी २ मा २०७४ मा एकल सञ्चालन गर्ने गरी ‘उपहार फिड्स’ सञ्चालनमा ल्याए । सुरुमा ७ करोड रुपैयाँ लगानी गरे । त्यो राम्रोसँग सञ्चालन भइरहेको अवस्थामा उनले फेरि अर्को फर्ममार्फत् व्यवसाय विस्तार गर्ने योजना बनाए ।
त्यही योजनाअनुसार ‘कोशी फिड्स प्रालि’ नामक अर्को कम्पनी स्थापित भयो । अहिले दुबै कम्पनीले उत्तिकै मात्रमा उत्पादन तथा बिक्री गर्दै आएका छन् । राम्ररी चलेका छन् । दर्जनौंले रोजगारी पाएका छन् । उपभोक्ताको विश्वास जित्न सकेका छन् ।
ती दुवै फर्ममा गरी ५० करोड रुपैयाँभन्दा बढीको लगानी भइसकेको कार्कीले बताए । तीन सयवटा कुखुराबाट सुरु गरेको उनको कुखुरापालन व्यवसायअन्तर्गत फर्ममा अहिले ४२ हजारभन्दा बढी कुखुरा छन् ।
पछिल्लो पटक ‘झुम्का अर्गानिक कृषि फर्म’ सञ्चालन गरेर लेयर्स जातको अण्डा उत्पादन गर्ने कुखुरापालन गर्दै आएका छन् । फर्ममा कुखुरामात्र होइन उन्नत जातका पाँच सयभन्दा बढी बंगुर र डेढ सयभन्दा बढी उन्नत जातका खसीबाख्रा पनि पालेका छन् ।
व्यवसायमा अनुभव बढ्दै गएपछि उनले अरु सामग्री बिक्री गर्नेतिर पनि सोचे । फलस्वरुप २०७१ सालबाट रामधुनीकै पकलीमा ‘महिमा डिपार्टमेन्ट स्टोर’ मार्फत् उपभोक्तासम्म पुगे । स्थानीय उपभोक्ताको आवश्यकताअनुसारका सामान उनले स्टोर मार्फत् बिक्री गर्दे आएका छन् ।
यतिबेला उनी एउटा सफल र अनुकरणीय व्यवसायी बनेका छन् । त्यसैले त पहिले खिसीट्युरी गर्नेहरु आएर भन्छन्, ‘तिमीले छोटो समयमै कति धेरै प्रगति गर्यौ, पहिले यसरी सफल हुन्छौ जस्तो लागेको थिएन । तर गर्दा हुँदोरहेछ भन्ने हामीलाई पनि पाठ सिकायौ ।’ यसो भनिंदिँदा उनको छाती गर्वले फराकिलो हुन्छ ।
उनले गरिरहेको व्यवसायमा पछिल्लो समय केही समस्याहरु देखिएका छन् । बर्ड फ्लु, मूल्यमा कमी, बजार असन्तुलित जस्ता कुराले व्यवसाय प्रभावित भएका छन् । उनका कतिपय साथीहरु व्यवसायबाटै पलायन हुने अवस्था आइरहेको छ ।
यस्तो अवस्थालाई रोक्न राज्यले सहयोग गर्नुपर्ने उनको धारणा छ । खुला सीमा नाकाबाट निर्बाध भित्रने भारतीय अण्डा, कुखुराजस्ता वस्तुहरु नियन्त्रण गरिनुपर्ने उनी बताउँछन् ।
व्यवसायमा अनेक खाले समस्या आउँछन् । पहिले पनि उनलाई समस्या नपरेको होइन । कतिकति बेला त उनी एकाएक निरास पनि हुन्थे । तर हरेस खाएनन् । निरन्तर अघि बढ्दै गए । तुरुन्तै फाइदा लिइहाल्ने सोचेनन् ।
मेहनत गरे एक दिन अवश्य आफ्नो दिन फिर्छ भन्ने उनले मनमा ठानिरहेकै थिए । त्यसैले सफल पनि भए । यो लामो अनुभवबाट उनले बुझेका छन्, ‘काम कुनै पनि सानो भन्ने हुँदैन । सानै पुँजीबाट जुनसुकै व्यवसाय सुरु गर्न सकिन्छ । तर जे गरिन्छ लगनका साथ गर्नुपर्छ ।’
अनि काममा इमान्दारी र निरन्तरता पनि उनको मन्त्र हो । अचेल अरुलाई पनि यस्तै मन्त्र सुनाउँदै उनी केही गर्न हौस्याउने गरेका छन् । उनले जीवनमा सन्तान गुमाउनुको पीडा भोगे । सँगै जागिर पनि गुमाए ।
जहाँसम्म पीडा परेको थियो उनलाई । उस्तै पीडामा परेकी श्रीमतीलाई पनि सम्हाल्नु थियो । बिस्तारै सम्हालिँदै गए । दुवैले मेहनत खन्याए । त्यसैले अचेल भरत एउटा सफल र अनुकरणीय उद्यमीका रुपमा स्थापित बनेका छन् । छरछिमेक र साथीभाइ भन्छन्, ‘सफलतासँग भेट गर्नु छ भने आँट र मेहनत हुनु त भरतको जस्तो ।’
Discussion about this post